चितवन विशेष

देवघाटमा भोलि मगर समुदायको ‘बृहत साँस्कृतिक कार्यक्रम’ हुने

Banner

चितवन, फागुन १४-

तनहुँको देवघाटमा मगर समुदायको ‘बृहत साँस्कृतिक कार्यक्रम’हुने भएको छ । देवघाट मगर उत्थान समाजको आयोजनामा ४३ औँ मगर स्थापना दिवस तथा आफ्नो २७ औँ बार्षिकोत्सवको अवसरमा भोली बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

मगर जातिको भाषा, कला, धर्म तथा संस्कृतिको संरक्षण गर्नका लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको आज(बुधबार) देवघाटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । नयाँ पुस्तालाई मौलिक संस्कार हस्तान्तरण गराउने उद्देश्यका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको देवघाट मगर उत्थान समाजकी कार्यवाहक अध्यक्ष अमृता थापामगरले जानकारी दिइन् ।

‘मगर एकता हाम्रो अभियान लोक कला संस्कृती हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा मगर समुदायको मौलिक भेषभुषा, कौराहा नचरी लगायतका विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

‘आधुनिक प्रविधिको बढ्दो विकाससँगै मगर जातिको सांस्कृतिक पहिचान बोकेको कानराहा (कौराहा)को वास्तविक रस हराउँदै गएको हामीलाई महशुस भएको छ । नयाँ पुस्तामा हस्तान्तरण गराउने उद्देश्यले अप्रतियोगिताको रुपमा कौराहा नाँच प्रस्तुत गर्दैछौ,’ कार्यवहाक अध्यक्ष थापामगरले भनिन् ‘कार्यक्रममा मगर समुदायको भेषभुषा समेत प्रर्दशन गर्नेछौँ ।’
कौराहा अप्रतियोगितामा ६ वटा टिमको सहभागिता रहनेछ । दुःख सुःख साटासाटको रुपमा नाचगान गरिने यस कौराहाको अर्थ ‘हामी आयौँ’ भन्ने हुन्छ । कौराहामा सात दिन सात रातसम्म नाच्ने गरिन्छ । ४० जनासम्मको समुहमा नाचगान गरिने यस कोराहा पछिल्लो समय हराउँदै गएको उनले बताइन् । अप्रतियोगितामा भने एउटा समुहले १५ मिनेटसम्म आफ्नो प्रस्तुती दिने देवघाट मगर उत्थान समाजका सदस्य आशिक रानाले जानकारी दिए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित नयाँ बस्ती हाट बजारमा हुन लागेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका पुन मगर, बबिता थापामगर, पृथ्वी गुरुङ, निश्चल थापामगर, शिव थापामगर र डान्सर आना मगरको प्रस्तुती रहने छ ।

भोली फागुन १५ गते बिहान ८ बजे दासढुंगा पक्की पुलबाट झाँकी सहितको ¥याली समेत निकालिने छ । देवघाट मगर समुदायको बाहुल्य रहेको गाउँपालिका हो । यहाँ १६ हजार जनसंख्या मध्ये ३५ प्रतिशत मगर समुदायको रहेको छ । मगर समुदायबाट आर्थिक सहयोग संकलन गरेर साँस्कृतिक कार्यक्रम गर्न लागिएको रानाले जानकारी दिए । उनका अनुसार कार्यक्रम सञ्चालन गर्न ६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>