चितवन विशेष

कुष्ठरोग प्रभावितहरु समुदायमा खुल्दै

Banner

रत्ननगर, फागुन १३-

चितवनको सौराहामा कुष्ठरोग प्रभावितको सहजीकरणमा गठित सहायता समूह तथा सहकारी संस्थाहरुको प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । कुष्ठरोग प्रभावितको सहायता समूहको सञ्जाल बनाउने उद्देश्यले फागुन १२ देखि सौराहामा सम्मेलनको आयोजना गरिएको हो ।

फागुन १४ सम्म सञ्चालन हुने सम्मेलनमा दि लेप्रोसी मिसन नेपाल र नेपाल लेप्रोसी फेलोसीपको सहजीकरणमा गठित स्वयम् सहायता समूह तथा सहकारी संस्थाको सहभागिता रहेको छ । आफ्ना सिकाइ र भोगाइलाई साटासाट गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलनको आयोजना गरिएको दि लेप्रोसी मिसन नेपालका निर्देशक शोभाखर कँडेलले जानकारी दिनुभयो । सम्मेलनबाट समाज परिवर्तनमा सहयोग पुग्ने अपेक्षा समेत राखिएको उहाँले बताउनुभयो ।

दि लेप्रोसी मिसन नेपालले कुष्ठरोग प्रभावित, अपाङ्गता भएका व्यक्ति तथा सिमान्तकृत समुदायलाई समावेश गरेर विभिन्न समूह तथा सहकारी स्थापना गरी काम गरिरहेको छ । हालसम्म देशभर ६५ सहकारी र ४० वटा स्वयम् साहायता समूह बनाएको उहाँले बताउनुभयो । सोही समूह तथा सहकारीबाट सम्मेलनमा एक सय १५ जना प्रतिनिधि आएका छन् । यी समूह र सहकारीमा १० हजार मानिसहरु आवद्ध छन् ।

नेपालमा २० वर्ष अगाडि समुदायमा आधारित काम थालेकोे यस संस्थाले ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, धनगढी, मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट रुपन्देही कपिलवस्तु, कैलाली, कञ्चनपुर र बाजुरा सहित १६ जिल्लामा सहकारी स्थापना गरिसकेको छ । यी सहकारीलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न हालसम्म ५२ करोड रुपैयाँ समेत सहयोग गरिएको उहाँले बताउनुभयो । यस संस्थाले सहकारी तथा समूह मार्फत पछाडि परेका परिवार तथा सामाजिक विभेद खेपिरहेका व्यक्तिहरुलाई सहयोग गरेको थियो ।

विशेष गरि रोग निदान उपचार र पुनःस्थापना गर्ने उद्देश्यले समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, नेपालका स्वास्थ्य कर्मचारीलाई तालिम तथा प्राविधिक सहयोग गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको उहाँको बुझाइ छ । ‘हामीले कार्यक्रम सञ्चालन गरेपछि समाजमा भएको भेदभाव घटेको छ । समाजले स्वीकार गरिरहेका छन् । उपचारमा जाने वातावरण बनेको छ,’ उहाँले भन्नुभयो, ‘सुरुमै रोग निदानको कुरामा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’ बिरामीको अवस्था हेरी ६ देखि १८ महिनासम्म नियमित औषधि खाएमा कुष्ठरोग निको हुन्छ ।

उहाँका अनुसार नेपालमा दुई हजार पाँच सय व्यक्तिले अझैपनि कुष्ठरोगको औषधि सेवन गरेका छन् । नेपालमा ७० वर्षको अवधिमा कुष्ठरोग प्रभावित दुई लाख ५० हजार व्यक्ति निको भइसकेका छन् । यस्तै अंगभंग भएका मानिसहरु ३० हजार जनाको हाराहारीमा रहेको उहाँले बताउनुभयो ।

नेपाललाई सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त बनाउने लक्ष्य राखेको छ । सम्मेलनले सरकारको लक्ष्यलाई सहयोग पु¥याउने समेत अपेक्षा गरिएको छ । पछिल्लो समयमा कुष्ठरोग प्रभावित समेत खुलेर आउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का वशराज हरिजनले समाजले कुष्ठरोग लागेका व्यक्तिहरुलाई हेर्ने व्यवहारमा केही परिवर्तन आएको बताउनुभयो ।

‘सन् २०१२ मा कुष्ठरोग लागेको रै’छ । २०१९ मा आउँदा रोग लागेको पुष्टिभयो,’ उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो ‘समाजले नराम्रो भन्ला भनेर थाहा दिएन । अहिले चाहीँ त्यस्तो छैन ।’ भारतमा मजदुरी गर्दै आएका हरिजन कुष्ठरोग प्रभावित, अपाङ्गता, सिमान्तकृत र एकल महिला मिलेर सञ्चालन गरेको साथी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत हुनुहुन्छ । ३३ लाख पुँजी रहेको यस संस्थाले ग्यास डिलर समेत सञ्चालन गरेको छ भने माछापालन, पशुपालन सहित कृषि तथा अन्य व्यवसायमा समेत लगानी गरेको छ ।

बाराका शेख नक्टु पनि कुष्ठरोग प्रभावित हुन् । मुसलमान समुदायमा जन्मिनुभएका ६५ वर्षका शेखलाई समाजले कुष्ठरोग लागेको समयमा नराम्रो व्यवहारले हेरेको थियो । ‘५० वर्षको उमेरमा हातगोडा चल्न छाडेको थियो । १० वर्षसम्म रोग पहिचान हुन सकेन । रोग पहिचान भएपछि समाजले घिनलाग्दो तरिकाले हेरे,’ हिन्दी लवज बोल्दै उहाँले भन्नुभयो ‘कसैको अगाडि प¥यो भने उता जाऊ भन्थे । त्यतिखेर आँखाबाट आँशु आउँथ्यो ।’

हिजोआज भने समाजले सकारात्मक तरिकाले लिन थालेको उहाँले बताउनुभयो । ‘रोग निको भएपछि समूहमा बसेर काम गर्न थालेँ । काम गरेर पैसा कमाइ हुन थाल्यो,’ समूहका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो, ‘पैसा भएपछि सब ठीक हुन्छ ।’ चितवन पनि कुष्ठरोग प्रभावित जिल्ला हो । यहाँ ५० को हाराहारीमा कुष्ठरोगी छन् । चितवनको माडीमा पनि कुष्ठरोग प्रभावित सहित एकल महिला, सिमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरुको चार वटा सहकारी छ ।

माडी नगरपालिकाका प्रशासन शाखा प्रमुख शिवप्रसाद सुवेदीले सहकारी र समूह मार्फत कुष्ठरोग निर्मुल पार्न सहज भएको बताउनुभयो । इको सामुदायिक कृषि सहकारी संस्थाका व्यवस्थापक नेत्रप्रसाद आचार्य कुष्ठरोगीहरु खुलेर आउन सक्ने वातावरण भएको बताउनुहुन्छ । ‘हामीले कुष्ठरोग सम्बन्धी चेतनामूलक कार्यक्रम गरेका छौँ । त्यहाँ वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिन्छौँ । सहकारीको रकम उत्पादनशील कार्यमा लगानी भएको छ,’ उहाँले भन्नुभयो ‘अहिले अपाङ्गता र कुष्ठरोगीलाई हेर्ने विषयमा सकारात्मक नै पाएका छौँ ।’ उहाँको संस्थामा ५० जना कुष्ठरोग प्रभावित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>