क्रिकेट
भरतपुर मेयर्स कप क्रिकेटः चितवन माविको सेमीफाइनल सम्भावना जिवितै

चितवन, फागुन ९–
भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा चितवन माविले साविक उपविजेता वाल्मीकि शिक्षा सदनलाई ४ विकेटले पराजित गरेसंगै सेमीफाइनल सम्भावना बलियो बनेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको खेलमा चितवन माविले साविक उपविजेता वाल्मीकि शिक्षा सदनलाई ४ विकेटले पराजित गर्दै ३ खेलमा ४ अंक बनाएर सेमीफाइनल संभावना बलियो बनाएको हो । चितवन माविले अब लिग चरणको अन्तिम खेलमा नारायणी इङलिस पब्लिक स्कुलसंग भिड्ने छ । उक्त खेलको विजयी भए चितवन मावि सिधै सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित भएमा नारायणी पब्लिक, वाल्मीकि शिक्षा सदन र चितवन मावि मध्ये नेटरनरेटको आधारमा एक टोली सेमीफाइनलमा पुग्ने छ । समूह ‘ए’बाट समान ३ खेलमा जित निकालेको साविक विजेता अर्किड एक खेल अगावै सेमीफाइनल स्थान सुरक्षित गरि सकेको छ । अर्किडले अन्तिम खेलमा समूहको पुछारमा रहेको हिमालय दण्डपानी माविसंग खेल्नेछ । हिमालय लिग चरणमा जितविहिन रहेको छ ।
साविक उपविजेता वाल्मीकि शिक्षा सदन टस जितेर ब्याटिङ गर्दै चितवन मावि समक्ष १८.५ ओभरमा अलआउट हुँदै ९२ रनको झिनो लक्ष्य पेश गरेको थियो । वाल्मीकिका लागि समिर न्यौपानेले ३१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । चितवन माविका वेद प्रकास शाहले ४ ओभरमा ११ रन खर्चिदै ४ विकेट लिए । पवन महतोले २ विकेट लिए ।
९२ रनको लक्ष्य पछ्याएको चितवन मावि १५.४ ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्यो । उसका लागि अजित यादवले २४ बलमा ४० रनको विष्फोटक पारी खेले । उमाशंकर यादवले २१ रन बनाए । वाल्मीकिका माधव सापकोटाले ३ र दिप्सन गौडेलले एक विकेट लिए । चितवन माविका वेद प्लेयर अफ दि म्याच घोषित भए ।
भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।





















