समाचार
पाथिभरा केवलकार विवाद: आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, १३ जना घाइते

ताप्लेजुङ, फागुन ८-
पाथीभरा केवलकार परियोजनाको विरोध चर्किँदै गएपछि बिहीबार आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेको छ भने घटनामा १२ जना सुरक्षाकर्मी र एक जना प्रदर्शनकारी घाइते भएका छन्।
‘नो केबलकार’ अभियानका समर्थकहरूले वृहत् सद्भाव र्याली निकाल्दै केवलकारको बेस स्टेसनसम्म पुगेका थिए। उनीहरूले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो।
आन्दोलनकारीहरूले जबरजस्ती अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्यो। सोही क्रममा दुवै पक्षबिच ठेलमठेल हुँदा झडपको अवस्था सिर्जना भएको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख नेत्रप्रसाद शर्माका अनुसार स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो। प्रदर्शनकारीहरू झन् आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको उनले जानकारी दिए।
माघ ६ देखि ८ गतेसम्म चलेको पदयात्राको अन्तिम दिन बुधबार आन्दोलन थप चर्किएको हो। सोही सद्भाव र्यालीमा सहभागी राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङलगायतका नेताहरू भने पाथीभरा मन्दिरसम्म पुगिसेका थिए।
यसैबिच, आन्दोलनरत समूहले केवलकारको बेस स्टेसनतर्फ अघि बढेर प्रदर्शन जारी राखेका थिए। प्रशासनले अतिरिक्त सुरक्षा सतर्कता अपनाएको छ। हाल अवस्था भने सामान्य रहेको बताइएको छ।
झडपपछि सुरक्षालाई कडा पारिएको छ भने आन्दोलनकारीहरू आफ्नो माग पूरा गर्न दबाब दिइरहेका छन्। स्थानीय प्रशासनले दुवै पक्षलाई संयमित रहन आग्रह गर्दै शान्तिपूर्ण समाधान निकाल्न पहल गरिरहेको जनाएको छ।

























