चितवन विशेष
स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत आठजना सम्मानित

चितवन, फागुन ८–
चौतरिया बघडिया पटिदारी चितवनले स्वास्थ्य क्षेत्रमा कार्यरत आफ्ना पटिदारीभित्र पर्ने आठजना युवाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २५ जबका चितवनमा सम्पन्न पटिदारीको २४औं वार्षिक सम्मेलनमा ती युवाहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा माडी नगरपालिका वडा नं. ४ का मुकेश महतो, किरण थनेत, सुदिप चौधरी, रन्जित चौधरी, रेवती चौधरी तथा रत्ननगर नगरपालिका वडा नं. ८ का नितु चौधरी र सोहि नगरपालिका वडा नं. ६ का छन्नु चौधरी एवम् भरतपुर महानगरपालिका वडा नं. २५ की अमृता चौधरी रहनु भएको छ । उहाँहरुलाई प्रमुख अतिथि डा. मनोजकुमार चौधरी, भजुमनराम महतो र पटिदारीका अध्यक्ष मागर महतोले संयुक्त रुपमा दोसल्ला, नगद तथा सम्मान पत्रबाट सम्मान गर्नुभएको हो ।
सम्मेलनले पटिदारीको संशोधित विधान, काजक्रिया कार्यविधि र बचत तथा ऋण कार्यविधि पारित गरेको छ । सम्मेलनमा कोषाध्यक्ष आदिराम महतोको प्रतिनिधित्व गर्दै सल्लाहकार नारायण प्रसाद महतोले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनले छिमेकी जिल्ला नवलपरासी र मित्रराष्ट्र भारतको चम्पारण तथा उत्तर प्रदेशमा रहेका आफ्ना पटिदारीभित्र पर्ने १३ दिने दाजुभाई तथा पटिदारहरुको समेत खोजी गरी वंशावली निर्माण गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.मनोजकुमार चौधरी, थारु कल्याणकारिणी सभाका पूर्व वरिष्ठ उपाध्यक्ष भजुमनराम महतो, ज्येष्ठ पटिदार जगरनाथ महतो लगायतले शुमकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मानित व्यक्तित्वमध्ये मुकेश महतोले धन्यवाद मन्तव्य र पटिदारीका सचिव यसराम महतोले स्वागत मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो ।
सम्मेलन चौतरिया बघडिया पटिदारी चितवनका अध्यक्ष मागर महतोका अध्यक्षतामा सम्पन्न भएको थियो ।
























