खैरहनी
खैरहनी माविले मनायो ६८औं वार्षिकोत्सव

चितवन, फागुन ६–
पूर्वी चितवनको खैरहनी नगरपालिकाको केन्द्रविन्दुमा रहेको खैरहनी माविले ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । खैरहनी नगरपालिकाको नगरप्रमुख शशीकुमार खनियाँले उक्त समारोहको समुदघाटन गर्नुभयो । सो क्रममा नगरप्रमुख खनियाँले खैरहनी माविको लागि नगरपालिकाले गर्नुपर्ने सबै काम गरिसकेको अब कुनै पनि हालतमा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो ।
“प्रावि ब्लकमा जस्ता तात्यो भनेर नगरपालिकाले १९ लाख लागतमा जिप्सन लगाएको छ । गेटसँग जोडिएको भवनबाट रामपुर क्याम्पसलाई अन्यत्र सारेकोे छ । शिक्षक मिलान गरी सबैभन्दा सक्षम प्रधानाध्यापक र अब्बल शिक्षकहरु सरुवा गरेर ल्याइएको छ । माथिल्लो कक्षाहरुमा कोचिङ्ग कक्षा र तल्लो कक्षाहरुमा होमवर्क कक्षा सञ्चालन गरेका छौं । शिक्षक अपुग भयो भनेर भोलेन्टियर शिक्षकहरुको व्यवस्थापन गरेको छौं । अब नगरपालिकाले के गर्न बाँकी छ । त्यो पनि गर्न तयार छौं । तर शैक्षिक गुणस्तर सुधार जसरी भएपनि हुनैपर्छ ।” नगरप्रमुख खनियाँले भन्नुभयो ।
सरकारी विद्यालयको गुणस्तर खस्किनुका कारण खोतल्दै नगरप्रमुख खनियाँले भन्नुभयो–“विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने बेलामा मात्र राजनीतिक दलसँग सम्बन्धित व्यक्तिहरु सक्रिय हुने र अरु बेलामा चासो नदिने, शिक्षक साथीहरु विद्यार्थीको पढाइ कसरी राम्रो हुन्छ भन्ने छलफल गर्नुभन्दा संघ र संगठन कसरी बलियो हुन्छ भन्ने चिन्तन गर्ने कारणले पनि कतिपय सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्केको हो ।”
नगरउपप्रमुख कविता उप्रेतीले भौतिक निर्माणले मात्र शैक्षिक सुधार नहुने बताउनुभयो । “शैक्षिक गुणस्तरका लागि विद्यार्थी र अभिभावकको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । अभिभावकहरुले आफ्नो बच्चा स्कुल पुग्यो कि पुगेन । स्कुलमा पढ्यो कि पढेन । घरमा होम गर्यो कि गरेन । यी विषयमा चासो राखी समयसमयमा शिक्षकसँग आफ्नो बच्चाको पढाई बारे सोधपुछ गर्ने गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
समारोहमा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्माले विद्यालय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा नगरशिक्षा अधिकारी राजु बानियाँ, पूर्व प्रधानाध्यापक घनश्याम प्रधान, वडा नं. ६ का वडाध्यक्ष कमलप्रसाद न्यौपाने, नेपाली काँग्रेसका नगर अध्यक्ष गुणराज श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, राप्रपाका प्रतिनिधि मञ्जु बर्तौला साथै कक्षा ९ मा अध्ययनरत विद्यार्थी मानस्वी खरेल लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
नगरप्रमुख र उपप्रमुख लगायतका अतिथिहरुले विद्यालयको हाताभित्र प्रदर्शन भएको विज्ञान प्रदर्शनी, पोषण प्रदर्शनीका साथै स्काउट र अन्य विद्यार्थीहरुको गतिविधि र क्रियाकलापहरुको चासोपूर्ण तरिकाले अवलोकन गर्नुभयो । समारोहमा विभिन्न खेलकूदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल, सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार, विपन्न विद्यार्थीहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले शैक्षिक सामग्री प्रदान गरियो । यस शैक्षिक सत्रमा विद्यालयको शैक्षिक उन्नयनका लागि उल्लेखनीय सहयोग प्रदान गर्ने खैरहनी नगरपालिका वडा नं. ८ का तुलसीराम कँडेल र राजेश्वर सापकोटालाई विद्यालयले सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल परियारको अध्यक्षतामा सम्पन्न भएको समारोहमा शिक्षक राधा पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहायक प्रधानाध्यापक नवराज ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कुल ११०० विद्यार्थीहरु अध्ययनरत छन् ।