चितवन विशेष
लंकूमा जारी महायज्ञमा ६० लाख संकलन

चितवन, फागुन ३-
भरतपुर–४ लंकूस्थित हरिकीर्तन धार्मिक संस्था (लक्ष्मीवेङ्कटेश मन्दिर)मा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको दोस्रो दिनसम्म नगद र बोलकबोल गरी ६० लाख रुपैयाँ भन्दाबढी रकम संकलन भएको आर्थिक संयोजक भानुभक्त कंडेलले जानकारी दिए ।
शालग्रामाचार्य गुरु आश्रम नाग्लिवाङ्गका नारायणाचार्य र टीकाराम गुरुको प्रधान आचार्यत्व तथा चन्द्रप्रसाद सापकोटाको उपाचार्यत्वमा बिहीवारदेखि सुरु भएको महायज्ञमा लोकप्रिय कथावाचक स्वामी डा चक्रपाणि आचार्यले दैनिकरूपमा श्रीमद्भागवत प्रवचन गरिरहेका छन् ।
महायज्ञमा शुक्रवार सामूहिक व्रतबन्ध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत फागुन ५ गते कमलनयनाचार्य (मुक्तिनाथ बाबा)बाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन र संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य (महन्त)मा पट्टाभिषेक गर्ने कार्यक्रम छ ।
त्यस्तै, नारायणाचार्य र टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन र फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको मीडिया संयोजक माधव सापकोटाले जानकारी दिए ।
























