चितवन विशेष
सौराहामा आजदेखि फूड फेस्टिभल सुरु, सौराहाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा

चितवन, माघ २९–
चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव (फूड फेस्टिभल) सुरु भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा आजदेखि १९ औँ संस्करणको महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले गरे ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री ठकुरीले सौराहाको पर्यटनको विकासका लागि प्रदेश सरकारले प्राथमिकता राखेको बताएका छन् । छाटो भाषण गरेका मन्त्री ठकुरीले खाना महोत्सवले सौराहाको पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत राखे ।
बागमती प्रदेशका संसाद तथा पुर्वमन्त्री कृष्णप्रसाद खनालले अहिले निकुञ्ज ऐन खारेज गर्नुपर्ने बताएका छन् । सौराहा क्षेत्रको विकास तथा मेलाको आयोजना गर्ने ठाउँका लागि बेला बेला निकुञ्ज बाधक बन्ने गरेको भन्दै त्यसलाई हटाउनका लागि ऐन नै परिमार्जन गर्नुपर्ने धारणा राखे ।
बागमती प्रदेशका सांसद जेएन थपलियाले सौराहाको पर्यटनलाई जोगाउन आवश्यक रहेको बताउँदै प्रदेश सरकारले काम गर्नुपर्ने बताए । उनले पूर्वी चितवनलाई नै समेटर पर्यटनको विकास गर्न योजना बनाउनुपर्ने समेत बताएका छन् । सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वसको आयोजना गरिएको हो । चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
उत्सवमा प्रवेश टिकटबाट प्राप्त आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गरिने आयोजकले जनाएको छ । उत्सवका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । आयोजक समितिका संयोजक शम्भूप्रसाद मालीले फागुन ३ गतेसम्म चल्ने खाना उत्सवमा बहुल जातजातीहरुको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुती रहेको छ ।
कलाकारको साङ्गीतिक प्रस्तुती, खाना प्रदर्शनी तथा प्रतियोगिता, ‘वेटर’र‘वेटरेस’बीच प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेवान कप महिला फुटवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने जनाइएको छ ।