चितवन विशेष
बखान च्याम्पियनसिपः रोमाञ्चक जितसहित पटिहानी फाइनलमा

चितवन, माघ २८-
रोमाञ्चक जित हात पार्दै पटिहानी एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शारदा युथ क्लब शारदानगरलाई सडन डेथमा पराजित गर्दै पटिहानी उपाधि नजिक पुगेको हो ।
बखान मिनी रगंशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा दुबै टिमले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् ।
निर्धारित समयको बराबरीपछि भएको टाइब्रेकरमा पनि ३-३ को बराबरी भयो । टाइब्रेकरको बराबरीपछि भएको सडन डेथमा पटिहानी १०(९ ले विजयी भयो । रोमाञ्चक टाइब्रेकरमा नायक बनेका पटिहानीका गोलरक्षक कुमार गुरुङ प्लेयर अफ दि म्याच भए ।
पटिहानी पहिलो पटक बखान च्याम्पियनसिपको फाइनलमा पुगेको हो । उसले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा मंगलबार सूर्यपुर एफसी र अभिषेक चर्च रहजर भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।