कृषि
बजार नपाएपछि चितवनमा किसानले काउली बारीमा जोते ट्याक्टर

चितवन, माघ १०-
चितवनमा बजार नपाएपछि भरतपुर महानगरपालिका–२४ का एक किसानले काउली बारीमा ट्याक्टरले जोतेका छन् ।
भरतपुर–२४ नयाँबस्तीस्थित केरुंगा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थामा आबद्ध किसान अर्जुन पुरीले काउलीले कुनै पनि भाउ नपाएको भन्दै सहकारीकै ट्याक्टर प्रयोग गरी काउली बारी जोतेका हुन् ।
भारतीय काउलीका कारण १० कठ्ठामा लगाएको काउली नबिकेको उनले बताए । ‘बजारमा बिक्दै बिकेन, अनि तरकारी बारीमा ट्याक्टरले जोत्नुपरेको हो । काउलीसँगै नबिकेपछि दुई लाख बढी घाटा भएको छ’, उनले भने ।
बारी जोतेर टमाटर लगाउने तयारी गरेको उनले सुनाए । काउली नबिकेर जोत्दै गर्दा विरक्त लागेको उनले प्रतिक्रिया दिए ।
‘कुनै पनि उपाय नलागेपछि, बजारबाट पनि माग नआएपछि बाध्य भएर जोत्नुपरेको हो’, उनले भने । किसानलाई जोताई खर्च नलागोस् भनेर सहकारीले आफ्नै ट्याक्टर निःशुल्क उपलब्ध गराएको छ ।
























