खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः नारायणी पब्लिक र प्रेरणा विजयी
चितवन, पुस २७–
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (शनिबार) भएका खेलहरुमा नारायणी इङलिस पब्लिक स्कुल र प्रेरणा इङलिस स्कुल विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा नारायणी इङलिस पब्लिक स्कुलले डन एकेडेमीलाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नारायणी पब्लिकले दिएको १६४ रनको लक्ष्य पछ्याएको डन एकेडेमी १८.५ ओभरमा ६६ रनमै अलआउट भयो । डन एकेडेमी प्रशान्त गुरुङले १२ र सुयोग केसीले १० रन बनाए ।
नारायणी पब्लिक प्रिन्स कार्की र राज महतोले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नारायणी इङलिस पब्लिक स्कुल निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि प्रिन्स कार्कीले अविजित १८ बलमा ३४ रन र अनमोल पाण्डेले २६ रन बनाए । डन एकेडेमीका आर्धन सुवेदीले र सुयोग केसीले समान २ विकेट लिए । सर्वाधिक रन बनाएका नारायणीका प्रिन्स प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा प्रेरणा इङलिस स्कुलले ओम शान्ति एकेडेमीलाई ३२ रनले पराजित गर्यो । प्रेरणाले दिएको ९६ रनको लक्ष्य पछ्याएको ओम शान्ति ६३ रनमा अलआउट भयो । यसअघि पहिले ब्याटिङ गरेको प्रेरणा १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । अजय ज्ञवाली र रोशन झाले समान १३ रन बनाए । ओम शान्तिका विशेष आचार्यले ३ विकेट लिए ।
प्रतियोगिता अन्तरगत भोलि एक मात्र खेल हुनेछ । विहान १० बजे हुने खेलमा पोलार स्टार बोर्डिङ स्कुल र सप्तगण्डकी बहुमुखी क्याम्पसबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल हुनेछ । विजेता टिमहरु दोस्रो चरणमा प्रवेश गर्नेछन् ।