चितवन विशेष
मह–जिज्ञासा, मिठास, र सम्झनाको कथा
अनुसुया आराधना पन्थी-
पुसको ठिहीराउँदो जाडो अनि जाडो बिर्साइदिने मह उत्सव । हामी १८ औँ हात्ती तथा पर्यटन महोत्सव हेर्न आएका हजारौँ दर्शकलाई चखाउँदै थियौँ , स्वदेशी मह ।
मह मात्र नभनौ होला, बरु भनौँ जुम्ला, चितवन र प्युठानको चिउरीको मह, तराईको मसलाको मह, चितवन, नवलपरासी र रुपन्देहीको तोरीको मह, सर्लाहीको रुदिलोको मह, सिराहाको लिचिको मह अनि गोरखाको चाम्रेको मह !!
धेरैको प्रश्न एउटै हुन्थ्यो, “ मह त मौरीको नै होलानी हैन ?” हामी मौरीले ती फूलहरुबाट रस ल्याएर बनाएको मह हो भन्थ्यौँ। तथापि भिगन मह (Vegan honey), कृमि मह (Artificial honey), चुकन्दरको मह (Beetroot honey) नभएका हैनन् तर ती हाम्रो महको मापदण्डभित्र पर्दैनन्–मह भनेर बेच्न पाइदैन। हामी सबभन्दा बढी उत्पादन हुने तोरीको जमेको र नजमेको ( तरल ) मह दिन्थ्यौँ अनि पालैपालो अरु मह चाख्न दिन्थ्यौँ ।
सँगै शुद्ध महको स्वाद , रङ र वासना मौरी बस्ने फूलको श्रोत, फुल्ने मौसम , हावा–पानी र फूल फुल्ने माटो अनुसार पनि फरक पर्दछ भन्थ्यौँ। मानिसहरु त्यो भिन्नता आफै महसुस गर्न पाउँदा दङ्ग पर्दथे। धेरैले मसला , तोरी, चिउरी र लिचीको मह गुलियो मान्थे भने रुदिलो र फापर अलिक तितो ! महको रङ कुनै सेतो, कुनै पहेलो, कुनै हलुका रातो त गाढा रङको देख्थे ।
हुनत:सहरीकरण बढ्दै गएकाले होला ४ प्रकारका स्थानीय मौरी अर्थात् सेरेना, खागो, कठ्यौरी अनि भीरमौरी भएका हाम्रो महसँगको साइनो कमजोर हुँदै गएको छ । अर्कोतर्फ नक्कली महको बिगबिगी र त्यसले निम्त्याएको उपभोक्ताको त्रासलाई पनि नकार्न सकिँदैन। त्यसैले होला जमेको मह देख्नासाथ कैयौंले शकाकासाथ यो त चिनीको मह हो भन्न भ्याए।
शुद्ध मह र घ्यू उस्तै हुनपर्दछ तातोले पग्लने अनि चिसोले जम्ने। कीट विज्ञानमा मौरी नपढेको भए मलाई नि थाहा हुन्नथ्यो होला प्रशोधन नगरेको महमा लाभदायक जीवाणु हुन्छन् भन्ने । तिनले गर्दा शुद्ध महको ग्लुकोज भन्ने पदार्थ जम्छ । तर जङ्गली श्रोतको महमा यो पदार्थ कम भएकाले ढिलो जम्छ। हामीले यहाँ आएजतिलाई भन्न त भन्थ्यौँ, “शुद्ध मह जम्न सक्छ।” तापनि म आफैलाई प्रश्न गर्न बाध्य भएँ। हामीले उनीहरुलाई विश्वास दिलाउन सक्यौ कि सकेनौँ ! यहाँबाट फर्केका उपभोक्ताको रोजाइमा जमेको मह पर्ला कि नपर्ला ?
लागेको थियो, प्रधानमन्त्री कृषि अधुनिकिरण परियोजना परियोजना कार्यान्वयन इकाई, चितवनले आयोजना गरेको प्रथम मह उत्सवमा सालको पातमा राखेर केवल दुई चम्चा मह बाँडिरहेका छौँ– तर होइन रहेछ हामी महप्रतिको लगाव, साझा इतिहास अनि अनुभव बाँडिरहेका रहेछौँ। भर्खर ताते गर्ने बच्चाले मह थपेर खाँदा लाग्थ्यो नयाँ जिज्ञासा बाँडिरहेका छौं भने बल्ल–बल्ल लौरोको सहाराले हिड्ने वृद्ध हजुरबुबा – आमाले थप्दा लाग्थ्योँ पुराना सम्झना बाडिरहेका छौँ। कोही खुसीले आफ्नो बाल्यकाल सम्झन्थे, “१ मोहोरमा १ माना मह पाइन्थ्यो ।” कोही दु;खी हुदैँ भन्थ्यौँ, “ कार्तिक लागेपछि रुखभरी खागो बस्थे, हामी माघमा मह काढ्थ्यौँ, न अहिले मौरी छन् न त काढ्ने मान्छे नै।” ओहो मह त साच्चिकै इतिहासको साक्षी पो रहेछ।
इतिहासको कुरा गर्दा कतै पढेका थियौँ, “ गणतन्त्र भनेको मौरीको जस्तो हुनपर्छ। जहाँ सबै निर्णय समूहको हुन्छ: जहाँ हरेक पात्र उत्तिकै महत्वपूर्ण हुन्छ ।” महोत्सवको दृश्य पनि उस्तै थियो। कोशीदेखि सुदुरपश्चिम, तराईदेखि पहाडका सामान्य नागरिकदेखि मन्त्रीसम्म सबै स्टल अगाडि उभिएर मह स्वादन गर्दै थिए। कसैलाई बिशेष सम्मान चाहिएको थिएन। मौरीको मह र मह उत्सवमा सामूहिक र समान सहभागिता भए जस्तै सबै नेपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति गर्न पाउन् ।