क्रिकेट

भरतपुर मेयर्स कप क्रिकेटः लक्ष्मी मावि जगतपुर र मावि गंगानगर विजयी

Banner

चितवन, पुस २१–

ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (आइतबार) भएका खेलहरुमा लक्ष्मी मावि जगतपुर र मावि गंगानगर विजयी भएका भएका छन् ।

आजको दोस्रो खेलमा लक्ष्मी माविले नयाँ किरण माविलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । १५७ रनको विशाल लक्ष्य पछ्याएको नयाँ किरण मावि १०.३ ओभरमा ७४ रनमै अलआउट भयो । उसका लागि विकास मण्डलले सर्वाधिक २२ रन बनाए भने सजिद अन्सारीले १४ रन बनाए । नयाँकिरणलाई सस्तैमा समेट्न लक्ष्मी माविका गुलशन शर्माले २ ओभरमा मात्र ७ रन खर्चिदै ५ विकेट लिए । समिर गैरेले २ ओभरमा १० रन खर्चिदै एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लक्ष्मी माविले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । उसका लागि कुन्दन यादवले २८, जलन्धर यादवले २७ रन बनाए ।

नयाँ किरणका एकरमुल अन्सारीले ४ ओभरमा १२ रन खर्चिदै २ विकेट लिए भने रुपेश ठाकुरले ४ ओभरमा ३५ रन खर्चिदै एक विकेट लिए । खेलमा ५ विकेट लिएका लक्ष्मी माविका गुलशन शर्मा प्लेयर अफ दि म्याच घोषित भए ।

यसअघि आजै भएको पहिलो खेलमा मावि गंगानगर १९ रनले विजयी भयो । गंगानगरले दिएको ७३ रनको झिनो लक्ष्य पछ्याएको जानकी मावि १७.२ ओभरमा ५४ रनमै अलआउट भयो । जानकीका सुमित चौधरीले सर्वाधिक १० रन बनाए भने राहुल पौडेलले ७ रन जोडे । गंगानगरका जय प्रकाश यादवले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिए भने अंकित बोटेले २.२ ओभरमा ९ रन खर्चिदै २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गंगानगर ११.५ ओभरमा ७२ रनमा अलआउट भयो । उसका लागि राज विकेले ९ र अंकित बोटेले ७ रन बनाए । गंगानगरलाई अलआउट गर्न जानकीका राहुल पौडेलले ४ ओभरमा १६ रन खर्चिदै ४ विकेट लिए भने सुमित चौधरीले ४ ओभरमा २० रन खर्चिदै २ विकेट लिए । खेलमा गंगानगरका जयप्रकाश यादव प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत भोलि (सोमबार) पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा प्रेमबस्ती मावि र शहिद स्मृति माविबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो राष्ट्रिय मावि तोरीखेत र सिद्धार्थ मावि केरुङबीच प्रतिस्पर्धा हुनेछ ।

तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल हुनेछ । विजेता टिमहरु दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

छनोट पार गरेका टिम, पहिलो संस्करणका सेमीफाइनल पुगेर सिधै दोस्रो चरणमा प्रवेश गरेका ४ र बाई परेर सिधै दोस्रो चरणमा पुगेका एक टिमबीच लिग चरणमा खेल हुनेछन् । लिगका उत्कृष्ट चार टिमबीच सेमीफाइनल हुँदै फाइनल प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>