क्रिकेट
भरतपुर मेयर्स कप क्रिकेटः उद्घाटन खेलमा चितवन मावि विजयी

चितवन, पुस १९–
चितवन माध्यमिक विद्यालय भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शुक्रबार) भएको समुद्घाटन खेलमा भरतपुर माध्यमिकविद्यालयलाई ४ विकेटले पराजित गर्दै चितवन मावि लिग चरणमा प्रवेश गरेको हो ।
भरतपुर माविले दिएको १०९ रनको लक्ष्य पछ्याएको चितवन मावि १८.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । चितनवन माविलाई अन्तिम २ ओभरमा जितका लागि १६ रन आवश्यक थियो । तर १९ औं ओभरका ४ बल भित्रमै चितवन माविले उक्त लक्ष्य पुरा गर्दै रोमाञ्चक जित हात पार्यो । उसका लागि अभिनन्दन यादवले ७ बलमा अविजित १६ रनको विष्फोटक पारी खेले । उनले १९औं ओभरमा लगातार दुई छक्का प्रहार गर्दै टिमको जित पक्का गराएका थिए । जीवन राउत १६ बलमा ८ रनमा अविजित रहे ।
भरतपुर माविका विकास सदा ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए भने रवि गुप्ताले ४ ओभरमा १ विकेट लिदै १३ रन खर्चिए ।
यसअघि पहिले ब्याटिङ गरेको भरतपुर मावि १५.३ ओभरमा १०८ रनमा अलआउट भयो । उसका लागि रन्जेश महतोले अविजित २८ बलमा ३७ रन बनाए भने शैलेन्द्र महतोले ६ रन बनाए ।
चितवन माविका अभिनन्दन यादवले ४ ओभरमा १६ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए । जीवन राउत ४ ओभरमा १७ रन खर्चिदै ३ विकेट लिए । चितवन माविका अलराउण्डर प्रदर्शन गरेका अभिनन्दन यादव प्लेयर अफ दि म्याच घोषित भए ।
यसअघि प्रतियोगिताको आज नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा समुद्घाटन गरेका थिए । ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आजदेखी दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल हुनेछ । विजेता टिमहरु दोस्रो चरणमा प्रवेश गर्नेछन् । छनोट पार गरेका टिम, पहिलो संस्करणका सेमीफाइनल पुगेर सिधै दोस्रो चरणमा प्रवेश गरेका ४ र बाई परेर सिधै दोस्रो चरणमा पुगेका एक टिमबीच लिग चरणमा खेल हुनेछन् । लिगका उत्कृष्ट चार टिमबीच सेमीफाइनल हुँदै फाइनल प्रतिस्पर्धा हुनेछ ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै क्यानका सचिव खड्काले निर्माणको काम समयमै सकिए नेपाल प्रिमियर लिग (एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जना अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली क्रिकेटलाई नजिकबाट माया गरिदिनु भएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाललाई विषेश धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयस्तर क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाउनु निकै सकारात्मक भएको उहाँको भनाई थियो । नेपाली क्रिकेटको भाग्य भविष्य यस्तै घरेलु ग्रासहुड प्रतियोगिताले निर्धारण गर्ने भएकाले भरतपुर मेयर्स कप क्रिकेट लिगले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने सचिव खड्काले बताउनुभयो ।
महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फटबल, उपमेयर कप भलिबल लगायत विभिन्न खेलहरु महानगरले आयोजना गर्दै आइरहेको स्मरण गर्नुभयो । महानगरपालिकाले यस्ता खेल गतिविधिलाई निरन्तर रुपमा अघि बढाउने उहाँको भनाई थियो ।
प्रमुख दाहालले अलपत्र रहेको रंगशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीब्र रुपमा अघि बढ्नु खुसीको विषय भएको उल्लेख गर्नुभयो । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पछिल्लो समय नेपालमा क्रिकेटले ब्यापकता पाएको भन्दै त्यही देखेरै रंगशाला निर्माणको कामलाई तिव्रता दिएको बताउनुभयो ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले ग्रासरुट क्रिकेटले नेपाली क्रिकेटको भविष्य देखाउने बताउनुभयो । उहाँले ग्रासरुट क्रिकेट आयोजना गरेकोमा भरतपुर महानगरलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
























