क्रिकेट
इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि अर्किड कलेज छनोट
चितवन, पुस ९–
आगामि माघ १५ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसीपका लागि चितवनबाट अर्किड कलेज छनोट भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा दुई दिनसम्म चलेको छनोट प्रतियोगितामा उपाधि जित्दै अर्किडले काठमाडौं यात्रा तय गरेको हो । उपाधिसंगै अर्किडले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । विजेता अर्किडलाई चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष उमेश पिया, सदस्य महादिप श्रेष्ठ, इ–प्लानेट चितवनका प्रमुख विमल अधिकारीले विजेता टिम अर्किडलाई ट्रफी र नगद पुरस्कार प्रदान गरे ।
आज (मंगलबार) भएको फाइनल खेलमा अर्किडले सनराइज इङलिस स्कुललाई १५ रनले पराजित गर्दै उपाधि जितेको हो । १० ओभरको खेलमा पहिलो ब्याटिङ गरेको अर्किडले ९ विकेटको क्षतिमा ७६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको सनराइज ७ विकेटको क्षतिमा ६१ रन मात्रै बनाउन सक्यो ।
सोमबार देखि भएको छनोट प्रतियोगितामा चितवनका ८ विद्यालय सहभागि भएका थिए । सेमीफाइनलमा अर्किडले वाल्मीकि शिक्षा सदनलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने सनराइजले न्यू क्यापिटल कलेज रत्ननगरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । छनोट प्रतियोगितामा अर्किड कलेज, डेजी इङलिस स्कुल खैरहनी, नारायणी नमुना मावि, वाल्मीकि शिक्षा सदन, स्मल हेभन इङलिस स्कुल, न्यू क्यापिटल कलेज, सनराइज इङलिस स्कुल र अंकुरम एकेडेमीले सहभागिता जनाएका थिए ।
इ–प्लानेटले चितवनसंगै सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गर्दैछ । प्रत्येक प्रदेशबाट छनोट भएका एक टिम र चितवनको एक टिम गरी ८ टिमले माघ १५, १६ र १७ गते मुलपानीमा हुने टि–२० प्रतिस्पर्धामा सहभागिता जनाउने इ–प्लानेटका मार्केटिङ चिफ सन्जीव भण्डारीले जानकारी दिए । बागमती प्रदेशबाट चितवन र काठमाडौंँमा छनोट प्रतियोगिता राखिएको हो । चितवनबाट सुरु भएको छनोट प्रतियोगिता अब इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी र काठमाडौंँमा हुनेछ भण्डारीले बताए । प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ ।