समाचार
आजदेखि खुल्दै चुरियामाई सुरुङ
काठमाडौं, पुस ८-
दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि आजबाट सर्वसाधारणका लागि खुला गरिँदै छ।
हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि आज हस्तान्तरण गर्न लागेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। आज १ बजे हुने हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेश मन्त्री र जनप्रतिनिधिको उपस्थिति रहने छ।
हस्तान्तरणपछि उपमहानगरपालिकाले व्यवस्थित चुरियामाई सुरुङ अवलोकनका लागि खुला गर्ने जनाएको छ। सुरुङ संचालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ।
उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ।
बागमती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत जेठमा सकिएको थियो। हस्तान्तरणको प्रक्रिया नै लम्बिएकाले सर्वसाधारणलाई सुरुङ खुला गर्न नसकिएको हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बताइन्।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो। करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो।