चितवन विशेष
नेकपा एमाले कालिकाको नगर अधिवेशन सुरु, ३५१ प्रतिनिधिबाट नेतृत्व चुनिँदै
चितवन, पुष ६-
नेकपा (एमाले) कालिका नगरपालिका चितवनको दोस्रो नगर अधिवेशन शुक्रवारदेखि सुरु भएको छ ।
३५१ जना प्रतिनिधिसहित हजारौंका उपस्थितिमा सडकमा र्यालीसहित उल्लासमय तरिकाले अधिवेशन सुरु भएको हो । अधिवेशनको खुलासत्र सकिएर बन्दसत्र समेत सुरु भइसकेको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।
सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा नेताहरु लागेका छन् । बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । कालिका नगर इन्चार्ज एवम् बागमती प्रदेश सदस्य गोपी श्रेष्ठ अध्यक्ष र विभिन्न तहका एमाले नेताहरु दिवश पाण्डे, विनोद रेग्मी, विमला श्रेष्ठ, टिका रिजाल, प्रकाश खनाल शैलेश र जयचन्द्र चौधरी सदस्य रहने गरी अध्यक्ष मण्डल बनाइएको छ ।
नगर कमिटी अध्यक्ष केशव लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुलासत्रमा नेकपा एमाले पोलिट ब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य जेएन थपलिया, संविधान सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखेल, केन्द्रीय सदस्यहरु प्रभा बराल, यम बहादुर परियार, प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, सचिव प्रकाश ढुंगाना, सहसचिवहरु मिन बहादुर परियार, ज्वालापुरी वन सहित जिल्ला कमिटीका नेताहरु, विभिन्न पालिका कमिटीका नेता कार्यकर्ता, जनवर्गीय संगठनका नेता कार्यकर्ता लगायत स्थानीय नगरबासीहरुको उल्लासमय उपस्थिति रहेको थियो ।