समाज

खाङग्रानाका नागरिकलाई पानीको समस्या

Banner

देउखुरी (दाङ),मंसिर २०-

राजपुर गाउँपालिका–६ खाङग्रानाका नागरिकलाई मङ्सिरको पहिलो सातादेखि इनारमा पानीको सतह घटेपछि खानेपानीको समस्या भएको छ । खानेपानी अभाव भएपछि स्थानीय खोलाको भर पर्न बाध्य छन् ।

“मङ्सिरमा नै इनार सुक्यो, अहिले खोलाको पानी खानुपर्ने बाध्यता छ । खोलाको पानी लिन पनि आधा घण्टा हिड्नुपर्छ । खोला पनि सुक्न थालेपछि चैत वैशाखमा पानीको हाहाकार हुने सङ्केत देखिएको छ”, स्थानीय सम्झना सिंह ठकुरीले भन्नुभयो ।

पातलो बस्ती औँलामा गन्न सकिने घर । तोरीबारीले घरआँगन सुन्दर देखिएका छन् । सबैका घरमा बाख्रा छन् । नजिकै जङ्गल, जङ्गलमा मौवा (एक प्रकारको जडिबुटी) का रूख र मौवाको दाना सुकाएर सबैका घरमा राखिएका छन् ।

मौवाको मदिरा बनाउनमा बढी प्रयोग हुने स्थानीय बताउँछन् । बस्तीमा पुग्न बाटोको समस्या छ । राजपुर–६ खाङग्रानाका नागरिक अधिकांश उपभोग्य वस्तुका लागि भारतको भर पर्दछन् ।

नेपाल–भारतसँग जोडिएको यो गाउँमा खाद्यन्नदेखि लत्ताकपडा सबै सिमानाकाबाट ल्याउने गरिएको स्थानीय ठकुरीले जानकारी दिनुभयो । “स्वास्थ्य सेवादेखि सबै खाद्यान्नका वस्तु लिन भारत जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “यहाँ बिजुली, टेलिफोनको टावर छैन, भारतीय फोन ९सिम०ले काम गर्छ । यहाँ ६५ परिवार छौँ, सबैले प्रयोग गर्ने एउटा इनार छ ।”

सोही वडाकी मङ्गलादेवी खत्रीले यहाँ बस्न थालेको २० वर्ष भएको बताउनुभयो । अहिलेसम्म पानी, विद्युत्, टेलिफोन सुविधा नहुँदा सास्ती भोग्दै आएको बताउनुभयो । राजपुरबाट दाङको लमही बजार जानभन्दा भारतीय बजार जान नजिक पर्ने उहाँको भनाइ छ ।

नुन, तेलदेखि दैनिक उपभोग्य वस्तु भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको खत्रीले बताउनुभयो । “नेपालका नागरिक हौँ, सुविधा भने भारतको लिएका छौँ”, उहाँले भन्नुभयो । वडा नं ६ मा एकीकृत स्वास्थ्य सेवा इकाइ रहेको भन्दै इकाइमा सेवा अपुग भएमा थप उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले नागरिकको सेवामा सदैव क्रियाशील रहँदा पनि अझै विभिन्न समस्या र चुनौती रहेका बताउनुभयो । जटिल भौगोलिक बनावट, अशिक्षा, अन्धविश्वासलगायत समस्या रहेको भन्दै विभिन्न अभियानमार्फत नागरिकलाई सचेतना फैलाउने प्रयास निरन्तर भइरहेको उहाँले जानकारी दिनुभयो ।

वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयमा न्यून जनशक्ति, अप्रर्याप्त पूर्वाधार, भारतसँग खुल्ला सिमाना, जनसहभागितामा कमी, गाउँपालिकाको क्षेत्रभित्र आवश्यक रोजगारमूलक उद्योगधन्दा, कलकारखाना नहुनुलगायत कारणले यहाँ नागरिक भारतमा भर पर्नुपरेको तितो यर्थाथ रहेको अध्यक्ष बुढाथोकीले उल्लेख गर्नुभयो । यी समस्या समाधान गर्न गाउपालिकाले योजनाबद्ध रूपमा प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

गाउँपालिका क्षेत्रमा खानेपानी तथा सिँचाइको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयलाई समस्या भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । सङ्घीय सरकारले सहयोग गरेमा सबै नागरिकलाई घरघरमा पानीको सुविधा पु¥याउन सकिने उहाँको भनाइ छ ।

“गाउँपालिका क्षेत्रभित्रका अधिकांश सडक कच्ची तथा कम गुणस्तरका छन् । सोही कारणले बर्सेनि सडक मर्मतमा बढी रकम खर्च गर्नुपरिरहेको छ”, गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भन्नुभयो, “कृषियोग्य भूमि भएपनि व्यावसायिक खेतीको विकास हुन नसकेकाले सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरिरहेका छौँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>