समाचार
बीआरआई कार्यान्वयनको निर्णय गर्ने जिम्मा ओली-देउवालाई
काठमाडौं, मंसिर १०-
बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्ताव तयार भएको छ ।
नेपाल सरकारले चीनको प्रस्तावलाई शब्द–शब्द अध्ययन गरी समीक्षा र परिमार्जन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विकास सल्लाहकार डा। युवराज खतिवडा सम्मिलित कार्यदल बनाएको थियो । त्यो कार्यदलमा विज्ञ सदस्यका रुपमा अधिवक्ता सेमन्त दाहालले काम गरिरहेका छन् ।
कार्यदलले चिनियाँ प्रस्तावलाई अध्ययन गरी त्यसमा गर्नुपर्ने संशोधनमा कार्यदल सदस्यबीच सहमति भएको एक उच्च सरकारी स्रोतले अनलाइनखबरलाई जानकारी दियो । त्यसमा आवश्यक संशोधन गरी नेपालका तर्फको प्रस्तावको मस्यौदा तयार गरी परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा गइसकेको पनि स्रोतले जानकारी दियो ।