चितवन विशेष

माडीमा पतरे खोला पुल निर्माण कार्य सात वर्षदेखि अलपत्र, झाडीले पुरिए संरचना

Banner

चितवन, कात्तिक २७-

चीन र भारतलाई स्थलमार्गबाट जोड्ने सडकमा रूपमा हेरिएको भरतपुर–ठोरी हुलाकीमार्गमा पर्ने ‘पतरे’ खोलामाथिको पुल निर्माणको काम अलपत्र बनेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ, सात वर्षअघि सम्झौता भई पटक पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न नसक्दा आयोजना नै अलपत्र परेको हो । भरतपुर–माडी– ठोरी हुलाकीमार्ग आयोजना कार्यालय वीरगन्जका निमित्त प्रमुख सञ्जयकुमार ठाकुरले पुलको ‘बेस लेबल’ को काम गरेर पनि निर्माण कार्य रोकिएको बताए ।

“पुल निर्माणका लागि राखिएका रड खिया लागेर काम नै नलाग्ने अवस्थामा पुगेका छन् । अनि बनेका संरचना पनि खर, खडाईलगायतका झाडीले छोपेर देख्नै नसक्ने अवस्थामा पुगेको छ,” उनले भने, “एकातिर पुल निर्माणको काम रोकिएको छ । अर्कातर्फ खोला पार गर्न नसकेर सधैँ यात्रुले सास्ती भोग्नुपरेको छ ।”

उनले पुल निर्माण परियोजनाका लागि पैसा भए पनि ठेकदारले काम नगर्दा योजना अलपत्र बताए । भरतपुर माडी ठोरी हुलाकी सडक निर्माण तथा स्तर उन्नतिको काम भइरहेका बेला यो पुल पनि निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि कार्यालयले लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते पहिलो पटक सम्झौता गरेको थियो । अहिलेसम्म तीन पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि तीन करोड ८४ लाख २५ हजार ४६१ रुपियाँ सम्झौता अनुसारको रकम विनियोजित भई थन्किएको छ ।

माडी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने यो पुल निर्माण कार्य रोकिन नहुने माडी नगरपालिकाकी प्रमुख ताराकाजी महतोले बताइन् । वर्षाको समय र झरी परेका बेला यो चुरेबाट आउने ठाडो खोला भएकाले धेरै सर्वसाधारणले यात्राका क्रममा दुःख पाउनुपरेको उनको भनाइ छ । “भारतसँग सीमा जोडिएको सडकको स्तर वृद्धि हुँदै गर्दा यो पुल निर्माण हुन सकेन भने यसले सबै कार्य सम्पन्न भएका कामलाई पनि ओझेलमा पार्छ,” उनले भनिन् । सडकभरि नै एउटा मात्रै पुल नहुँदा पनि त्यसले यातायात सञ्चालनमा अफ्ठ्यारो पार्ने उनको भनाइ छ ।

“अहिले पनि खोलामा हेलिएरै पार हुनुपर्ने बाध्यता छ । यसले त जोखिम बढाएको छ,” उनले भनिन् । सडककै स्तर वृद्धि भइरहेको भरतपुर–माडी–ठोरी हुलाकी सडकमा अहिले ठुलासाना ११ वटा पुल निर्माण भइरहेका छन् । निर्माण भइरहेका पुलमध्ये आठ वटा पुलको निर्माण प्रायः सकिएको छ भने दुई वटा पुल निर्माणकै क्रममा छन् । निर्माण भइरहेका पुलका लागि ६६ करोड रुपियाँभन्दा बढी बजेट विनियोजित पनि छ तर पतरे पुल भने निर्माण व्यवसायीको लापर्बाहीले निर्माण कार्य अघि बढ्न नसकेको गुनासो सर्वसाधारणको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>