चितवन विशेष
‘हिँड्ने मान्छे लड्छ’ : सहनशील एवम् सफल नेतृत्वको कथा बाँड्ने मञ्च
चितवन, कात्तिक २३-
कृति श्रेष्ठ, एलेक्स गौतम र सुवास कँडेलले नेतृत्व गरेको कथा श्रृंखला ‘हिँड्ने मान्छे लड्छ’ले छोटो समयमा प्रभावशाली मञ्चको रुपमा नागरिकको ध्यानाकर्षण गराएको छ । कलेज इन्टर्नसिप प्रोजेक्टको रूपमा डिजाइन गरिएको यस श्रृंखलाले विभिन्न व्यक्तिहरूको जीवनका अनुभवहरूलाई आम मानिसहरूसमक्ष ल्याएर चुनौतीहरूको सामना गर्न प्रेरित गरिरहेको छ।
यस श्रृंखलामा हालसम्म पुरूषोत्तम रिजाल (रिजाल फूड्स एण्ड बेभरेजेस), सन्दीप बराकोटी (सिद्धार्थ बैंक), प्रकाश गुरुङ (चितवन जिम), डा भोजराज अधिकारी (चिकित्सक), लक्ष्मण अर्याल (मनकामना ग्रुप अफ कम्पनी) र आनन्द बहादुर चन्द (बोस्टन इन्टरनेशनल कलेज) लगायतका सफल व्यक्तिको व्यक्तित्वहरू प्रस्तुत भएका छन्।
प्रत्येकले आफ्नो करियरलाई आकार दिने सङ्घर्ष र सफलताका अनुभवहरूबाट महत्वपूर्ण दृष्टान्तहरू बाँडेका छन्। यस प्रयासलाई डिजिटल घुम्तीले मिडिया पार्टनरको रूपमा र ड्रीमस्केपले उत्पादन पार्टनरको रूपमा समर्थन गर्दै उच्च गुणस्तरीय सामग्रीको साथ प्रत्येक कथा जीवन्त बनाइरहेका छन्।
आगामी सत्र ८ नोभेम्बर साँझ ५ बजेपछि पारस बसपार्क नजिकैको सेरेन बुटिक होटलमा आयोजना गरिने कथा शृङ्खलाको नेतृत्वकर्ता कृति श्रेष्ठले बताइन् । उक्त कार्यक्रममा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अपेक्षित सहभागिता रहने उनले बताइन्। हरेक अतिथिको यात्रा व्यक्तिगत र व्यावसायिक कठिनाइहरूलाई पार गर्ने साहस र दृढतालाई कार्यक्रम मार्फत उजागर गरिने छ ।
यी प्रभावशाली कथा सत्रहरू मार्फत ‘हिँड्ने मान्छे लड्छ’ले सफलता प्रायः सहनशीलताबाट आउँछ भन्ने कुरा सम्झाउँदै नेपालको युवापुस्तालाई आफूले सामना गर्ने जुनसुकै अवरोधहरू भए पनि आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्न चाहन्छ।