चितवन विशेष

चितवनका पालिका र सरकारी कार्यालयले एकैपटक गरे वार्षिक समिक्षा

Banner

चितवन, असोज २०–
चितवन जिल्लामा रहेका स्थानीय तह र सरकारी कार्यालयहरुको आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति चितवनको आयोजनामा आज (आइतबार) भरतपुरमा भएको वार्षिक समिक्षा कार्यक्रममा जिल्लाका सात स्थानीय तह र १० वटा कार्यालयको वार्षिक समिक्षा गरिएको हो ।

वार्षिक समिक्षा कार्यक्रममा बोल्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले स्थानिय तह तथा सरकारी कार्यालयले जनभावना अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले सुशासन कायम राख्ने काममा कर्मचारी र जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह समेत गर्नुभयो ।
‘हामी भष्ट्रचारी होइनौँ, हुन पनि दिँदैनौँ’,उहाँले भन्नुभयो ‘राजनीतिक कर्मीलाई एक सेकेण्ड पनि छुटपाउनु हुँदैन ।’ चितवन क्षेत्र नम्बर दुई ख का सांसद समेत रहनुभएका सिलवालले समृद्ध चितवन बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्लाका राजनीतिक दलहरुले कर्मचारीहरुले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनीहरुले सरकारी काममा जनताले धेरै दुःख पाउने भएकाले सहजरुपमा सेवाग्राहीका काम गर्नुपर्ने धारणा राखेका थिए । यस्तै जिल्लाका प्रमुख तथा उपप्रमुखहरुले तीन तहका सरकार बिच अन्तरसम्बन्ध हुन नसक्दा योजनाहरु दोहोरो भएको बताएका छन् ।

कार्यक्रममा सात स्थानियत तह सहित कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवन, डिभिजन वन कार्यालय भरतपुर, पूर्वाधार विकास कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन ईकाई चितवन, मत्स्य विकास कार्यालय भण्डारा, पशु विकास कार्यालय भरतपुर लगायतका कार्यालयको वार्षिक समिक्षा गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>