अन्तर्राष्ट्रिय
बिहारमा पुगेपछि फुट्यो कोशी, कयौँ भारतीय गाउँ जलमग्न
काठमाडौं, असोज १५-
कीर्तिमानी पानीको बहाव बोकिरहेको कोशी नदी भारतको बिहारमा पुगेपछि फुटेको छ । कोशी नदी दरभंगा जिल्लाको किरातपुर ब्लकस्थित भुभौग गाउँनजिकै सोमबार राति पश्चिमी बाँध फुटाएर बस्तीमा पसेको हो ।
कोशी नदी फुट्दा बिहारका कयौँ गाउँ अहिले जलमग्न छन् । बाँध फुटेर कोशी बस्तीमा पसेको क्षेत्रमा मंगलबार बिहारका मुख्यमन्त्री नीतिश कुमारसहितले हवाई निरीक्षण गरेका छन् । बाँध फुट्दा दरभंगा जिल्लाका कयौँ गाउँ बाढीको चपेटामा परेको बिहार सरकारको जल संशाधन विभागले मंगलबार जनाएको छ । सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा गरिरहेका छन् ।
गाउँलाई डुबानबाट बचाउन युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई मुख्यमन्त्री नीतिशकुमारले निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्याउन सरकारी अधिकारीलाई निर्देशन दिइएको विभागले जनाएको छ । बाँध फुटाएर कोशी बस्तीमा छिरेको क्षेत्रमा मंगलबार नै दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेट तयारी अवस्थामा राखिएको छ । बाढी नियन्त्रणबाहिर गएकाले अहिले प्रभावित क्षेत्र जलमग्न छन् । प्रभावितहरुको संख्या एकिन नभइसकेको बिहार राज्य सरकारले जनाएको छ ।
ग्रामीण गणेश मुखियाका अनुसार तटबन्ध फुटेका कारण मुसहरी र कनुन टोलाका बासिन्दा धेरै प्रभावित भएका छन् । यही बस्तीका तीन स्थानीयलाई कोशीको बहावले बगाएर लगेको छ ।
कोशीले बाँध फुटाएर गाउँमा पस्दा भुभौल गाउँमा पति(पत्नीसहित तीन स्थानीय बेपत्ता छन् । सोमबार राति तटबन्ध फुटेपछि कयौँ मानिसले घर छाडेका थिए । अन्य मानिस भागे पनि उनीहरू तीनजना बाँध फुटेर गाउँ पसेको कोशीसँगै बगेको बताइएको छ ।