अन्तर्राष्ट्रिय
हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षक पक्राउ

हङकङ, असोज ११-
हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। हङकङ ताओइस्ट एसोसिएसन द युन युन इन्स्टिच्युट नम्बर २ माध्यमिक विद्यालयमा उक्त घटना घटेको हो।
बुधबार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम चलिरहेको थियो। यही क्रममा एक छात्राले आफ्नो शैक्षिक नतिजाको विषयलाई लिएर सहपाठीले खिल्ली उडाएको गुनासो गरिन्। यसपछि मध्यस्थता गर्न पुगेका शिक्षकले छात्रलाई शारीरिक हानि हुने गरी कारवाही गरेका हुन्।
स्रोतका अनुसार, शिक्षकले १५ वर्षीय छात्रलाई घाँटीमा समातेर भुइँमा धकेलिदिएका थिए। बाहिरी चोट नदेखिएका कारण तुरुन्त चिकित्सातर्फ ध्यान नदिएका छात्रले घटनाबारे घरमा बताएपछि भित्री भागमा चोट लागेको खुलेको हो।
उनले आफ्नी आमालाई उक्त कुरा बताएपछि चेकजाँचका लागि अस्पताल लगिएको थियो। जहाँ, बालकको दाहिने हातको हड्डी टुटेको र घाँटी तथा ढाडमा सामान्य चोट लागेको पाइएको हो।
घटनाको भोलिपल्ट (आज) प्रहरीले विद्यालय व्यवस्थापनको निगरानीमा शिक्षकलाई पक्राउ गरेको द स्ट्यान्डर्डले जनाएको छ।
























