खेलकुद
आयोजक बिएफसीलाई हराउँदै पुलिस क्लब चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश

चितवन, असोज ८–
आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब काठमाडौं गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (मंगलबार) भएको प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा पुलिसले बिएफसीलाई टाईब्रेकरमा ५–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यस अघि निर्धारित समयको खेल २–२ को बराबरी सकिएको थियो ।
पुलिसका लागि दुबै गोल सुजन मगरले गरे । आयोजकका सन्जिव विष्ट र सृजन गौतमले गोल गरे । खेलको १८ औं मिनेटमा सुजनको गोलमा पुलिसले अग्रता लिएको थियो । ६० औं मिनेटमा सन्जिवले बिएफसीका लागि बराबरी गोल फर्काए ।
लगत्तै ६२ औं मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा सृजनले गोल गरेपछि निर्धारित समय २(२ को बराबरीमा सकियो । दुई गोल गरेका पुलिसका सुजन म्यान अफ दि म्याच भए ।
यो सँगै सेमिफाइनलमा पुलिस र एपिएफबीच विभागीय डर्बी हुने पक्का भएको छ । प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा सल्हेस एफसी सिराहा र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । खेल दिउँसो ३ः३० बजे हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।
























