खेलकुद
दोस्रो चितवन गोल्डकप आजदेखि सुरु हुँदै
चितवन, असोज ३–
गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
भरतपुर फुटबल क्लब बिएफसीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर एफसी र बागमती युवा क्लब भिड्नेछन् । खेल नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा दिउँसो ३ः३० बजे सुरु हुनेछ । त्यसअघि भव्य कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिने संयोजक धुर्व भुसालले जानकारी दिए ।
असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
करिब ४० हजार दर्शकले प्रत्यक्ष रुपमा प्रतियोगिताको खेलहरु अवलोकन गर्ने आयोजकको अनुमान छ । दर्शकका लागि पहिलो चरणमा ५०, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको संयोजक भुसालले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।