राजनीति
एमाले साना दललाई सक्ने खेलमा लाग्यो, कांग्रेसले रोक्नुपर्छः माधव नेपाल
काठमाडौं,भदौ २८-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) साना दलहरूलाई सक्ने खेलमा लागेको बताएका छन् । शुक्रबार एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको सन्देश सभामा अध्यक्ष नेपालले दुई तिहाइको दम्भमा संविधान संशोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने बताए ।
उनले संविधान संशोधन गरेर साना पार्टी सक्ने एमालेको उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे । अध्यक्ष नेपालले नेपालमा पहिलोपटक समाजवादी कार्यक्रम ल्याउने काम एकीकृत समाजवादी पार्टीले गरेको समेत दाबी गरे ।
कम्युनिस्ट पार्टीमध्ये आफ्नो पार्टीले नेपालमा पहिलोपटक समाजवादी कार्यक्रम ल्याएको र जनताको सेवामा लाग्न, देशको माया गर्न, सेवा गर्न, विकास निर्माण गर्न, जनतालाई सुखी र खुसी राखेर काम गर्ने दिशामा लाग्न प्रेरित गरेको जिकिर गरे ।