राजनीति
पूर्व मुख्यमन्त्रीको आन्दोलन पार्टीको संस्थागत आन्दोलन होइन:कांग्रेस
विराटनगर, भदौ २६-
नेपाली कांग्रेस कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पूर्व मुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै गरेको आन्दोलन पार्टीको संस्थागत आन्दोलन नभएको बताएका छन्।
पूर्वमुख्यमन्त्रीलाई आन्दोलन स्थलमा भेटेर फर्किएका नेता थापाले पूर्वमुख्यमन्त्री कांग्रेस पार्टीको संस्थागत आन्दोलन नभएको बताएका हुन्। थापाले पूर्व मुख्यमन्त्री कार्कीले पार्टीलाई जानकारी दिएर अनशन बसेको तर, पार्टीले आधिकारिक निर्णय नगरेको स्पष्ट पारे।
नेता थापाले पार्टीको संस्थागत निर्णय गरेर गरिएको आन्दोलन नभए पनि आन्दोलनलाई नजरअन्दाज गर्न नसकिने बताए। उनले पूर्व मुख्यमन्त्रीले उठाएका योजनाहरूमा बजेट नपरेकै हो वा स्टन्ट गर्न खोजिएको भन्ने बारे कार्यदल बनाएर छानबिन गरिने स्पष्ट पारे।
थापाले पूर्व मुख्यमन्त्रीले राखेका मागका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि छलफल गरिने बताए। उनले पार्टीको पहिलो प्राथमिकता सरकारमा जाने भएकाले सरकारमा सहभागी भएपछि पूर्व मुख्यमन्त्रीले उठाएका मागका विषयमा छलफल हुने धारणा राखे।
पूर्व मुख्यमन्त्री केदार कार्कीले बजेटमा आफू नेतृत्वको सरकारले ल्याएका जनता लक्षित योजना हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कटौती गरेको आरोप लगाउँदै विराटनगर स्थित प्रदेशसभा भवन नजिकै विभिन्न ९ वटा माग राखेर मंगलबार देखि आन्दोलन थालेका छन्।