समाचार

पक्राउ परेकी आमाको बयानः श्रीमान्‌ले मार्ने धम्की दिएपछि विष पिएँ, छोरीहरूलाई पनि पिलाएँ

Banner

विराटनगर, भदौ १९-

​​​​मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाको मृत्यु विष सेवनबाट भएको पाइएको छ । नाबालिकाद्वयकी आमा अस्मिता कार्कीले प्रहरीसँगको बयानमा उक्त तथ्य खुलाएकी हुन् । बयानमा कार्कीले पहिला आफूले विष पिएको र पछि छोरीहरूलाई विष पिलाएको बताएकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार अस्मिताले विषादी सेवन गरेपछि पेट पोल्न थालेको र त्यसपछि अब बाँच्दिन ​भनेपछि छोरीहरूलाई पनि विष खुवाएको बयानमा उल्लेख गरेकी छिन् । प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान्‌को रिसले छोरीहरूलाई विष पिलाएर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

अस्मिताले श्रीमान्‌ले गाली गरेकै कारण छोरीहरूको हत्या गरेको स्वीकार प्रहरीमा गरेकी एसपी कार्कीले जानकारी दिए ।घटनाबारे जानकारी दिन बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेको थियो ।पत्रकार सम्मेलनमा अस्मिताले बारम्बार श्रीमान्‌ले मार्ने धम्की दिएका कारण आफूले विष सेवन गरी छोरीलाई पनि विष पिलाएको बताएकी थिइन् । उनले भनिन्, ‘पटक(पटक छोरी र तँलाई मार्छु भनेर श्रीमान्‌ले भनेपछि डरले मैले पनि विष सेवन गरेँ र छोरीहरूलाई पनि पिलाएँ ।’

सुन्दरहरैँचा–७ गोठ गाउँमा नारायण न्यौपानेको केरा घारीभित्र नाबालिकाहरू एक वर्षीया आईका र तीन वर्षीया अर्पणा गत शनिबार दिउँसो मृत फेला परेका थिए । घटनाको पाँच दिनपछि प्रहरीले झापाको बिर्तामोडबाट अस्मितालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले अस्मितालाई विक्षिप्त अवस्थामा भेटेको थियो । उनको कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । अस्मिताले पहिला आफैं विषादी सेवन गरे नगरेको भने खुल्न बाँकी रहेको जानकारी एसपी कार्कीले दिए । प्रहरीले अस्मितालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मोरङमा म्याद थपेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>