Breaking News
चितवनको साहित्यिक राजमार्गमा ‘नैबेद’ कथा सङ्ग्रहको छलाङ्
पुस्तक समीक्षाः
०

मधुसूदन दवाडी
चितवन, भदौं २९–
धादिङको जोगिमारामा हुर्किएर चितवनलाई कर्मथलो बनाउँदै आएका पत्रकार विनोदबाबु रिजाल ‘नैबैद’ कथासङ्ग्रह मार्फत् कथाकारको रुपमा अवतरित भएका छन् । सत्य र तथ्यसँग खेल्ने पत्रकार एकाएक काल्पनिक पात्रहरु जोडेर गहिरो र बलियो विषयवस्तुमा १४ वटा कथालाई सङ्ग्रहित गरेर पाठकहरुको लागि ‘नैबेद’ ल्याएका छन् । पत्रकारिता क्षेत्रमा लामोसमय कलम चलाएर होला उनको कथाका पात्रहरुको प्रभावकारी भाषा शैली र संवाद पाइन्छ । जसरी साहित्य र पत्रकारिता विद्या एक आपसमा अन्तरसम्बन्धित छन् त्यस्तै खालको सम्बन्ध उनको कृतिमा पनि देखिन्छ ।
सामाजिक विषयवस्तुलाई बुझ्ने र व्याख्या गर्ने शैली उनले समाचार डेस्कको अनुभवबाट कथासङ्ग्रहमा स्थापित गर्न सफल भएका छन् । शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको कथासङ्ग्रह २६४ पृष्ठको छ । रिजालको पहिलो कथासङ्ग्रह भए पनि कथाका विषयवस्तु भाषा शैली, जीवन्त पात्र, चरित्र चित्रण, कथावस्तु, मनोरञ्जक परिवेशलाई अध्ययन गर्दा कथाकार निकै परिपक्क र अनुभवी कथाकारको रुपमा देखिएका छन् । उनको कृति र लेखनशैली अग्रज कथाकारकै हाराहारीमा पुगेको छ । सरल अर्थमा भन्दा उनको कथा लेखन शैली चितवनको साहित्यिक राजमार्गमा नयाँ उडान भर्दे दौडिएको छ । उनको गतिले अन्य कयौं साहित्यकारहरुलाई पछाडि धकेलेको छ । पहिलो प्रयासमा यो तहको परिपक्क कथासङ्ग्रह सिर्जना गर्ने सक्ने रिजालको क्षमतालाई चानचुने मान्न सकिन्न । उनी कथा लेखनको अग्रपंक्तिमा उभिन सफल भएका छन् ।
कथाकार रिजालले कथामा केही नयाँ विषयवस्तुलाई समेटेका छन् । शब्द, शीर्षक र आशय नयाँ छ जसले अहिलेको जेनजी पुस्ताको प्रतिनिधित्व गर्छ । अहिलेको समकालिन नेपालको युवाहरुको जीवनका जोडिएका विषयवस्तु प्रविधिको लत, वैदेशिक रोजगारी, प्रेम, धोका, निसन्तान पनको पीडा जस्ता नविन खालका विषयवस्तुलाई कृतिले उठाएको छ । कथाकारको जीवनका उतारचढावलाई राम्रोसँग बुझ्ने पाठकले उनकै आफ्नै कहानीहरु र जीवनका आरोह तथा अवरोहलाई पुस्तकमा लिपिबद्ध गएिको जस्तो अनुभव गर्छन् । पहिलो कथा ‘अर्की गर्लफ्रेन्ड’मा एआईसँगको गफले निकै रमाइलो अनुभूति दिन्छ । यसले भविष्यमा एआईले ल्याउन सक्ने जोखिमहरुको बारेमा मार्गदर्शन गरेको छ । एकातिर एआईसँग लाग्ने लतले युवाहरुमा एक्लोपन, बेचैन र निराशा बढाउन सक्छ भन्ने सन्देश यस कथाले दिएको छ । दोस्रो कथा माइलीले नेपालको ग्रामीण परिवेशमा रहेको सामाजिक वास्तविकतालाई प्रष्ट पारेको छ । वैदेशिक रोजगारी र रक्सीको कुलतले कसरी जीवन र सम्बन्धमा कसरी उत्तारचढाव ल्याउँछ भन्ने बुझ्न सकिन्छ । यो कथा पढ्दा आफ्नै गाउँघर, छरछिमेकको कहानी पढिरहे जस्तो लाग्छ । माइलीले कोठा छोड्दाको वर्णन मन छुने खालको छ । जसले सन्तानप्रतिको मायालाई मन छुने ढंगबाट प्रस्तुत गर्छ । त्यस्तै, केही समय शिक्षण पेसामा पनि जोडिएका कथाकारले ‘टाई’ कथामा नेपालमा चल्ने कोचिङ कक्षा र अध्ययन भारीलाई देखाउँदै ध्रुव सर र मुक्ति सरमार्फत् परम्परागत शिक्षण सिकाइ क्रियाकलापमाथि व्यङ्ग्य गर्न सफल भएका छन् । टाई लगाए ठूलो मान्छे बनिन्छ भन्ने सामाजिक संस्कार र संस्कृतिलाई पनि व्यङ्ग्य गरेको छ । कसरी समाजले एउटा विद्यार्थीलाई आत्महत्या गर्न बाध्य पार्छ भन्ने विषयलाई यहाँ राम्रोसँग बुझ्न सकिन्छ । शिक्षा मानवताको सेवामा हुनुपर्छ भन्ने राम्रो सन्देश कथाले दिएको छ ।
चौथो कथा ‘लिली गार्डेन’ असफल प्रेम कहानीको विषयमा र ‘क्याप्टेन डाँडा’ मा माओवादी द्वन्द्वको पीडा देखाउँदै समकालिन नेपाली राजनीतिमाथि व्यङ्ग गरिएको छ । जसले क्याप्टेन बालाई यातना दियो त्यही माओवादी नेता बाको शालिक अनावरण गर्न पुग्नुलाई कथाले माओवादीको दोहोरो चरित्रलाई उदांगो बनाएको छ । नैबैदमा सङ्ग्रहित छैठो कथा ‘दोस्रो बिहे’ सामाजिक विकृति बोक्सी प्रथामा आधारित छ । यसमा नारीको पीडा र मनोविज्ञानलाई सजिलै बुझ्न सकिन्छ । ‘अन्तिम चुम्बन’ मा अस्पतालको बिल तिर्न नसकेर बेपत्ता भएको मिलनले गरिबीको पीडा बोलेका छन् भने ‘भोग’ कथाले बलीलाई नैबेदको रुपमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी अपहरण, अकाल, बाध्यता जस्ता कथामा कोरोना कहर, वैदेशिक रोजगारीको बाध्यता जस्ता विषय समेटिएका छन् । अकाल कथा पढ्दा कथाकारको पहिलो कृति ‘एकान्तबास’को स्मरण हुन्छ । ‘शिविर’ मा निःसन्तान हुनुको पीडा र झन्झटलाई देखाइएको छ भने ‘एक्सन कट’ युवा पुस्ताको चलचित्र क्षेत्रमा काम गर्न खोज्ने आकर्षणलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । शिक्षण पेसा गर्दे आएको व्यक्त चलिचित्र सुटिङको लागि भन्दै विभिन्न हन्डर ठक्कर खान्छ । अन्तत ऊ चलचित्र क्षेत्रबाट दिक्दार बन्छ । उसले भन्छ, ‘ अब म फेरि कहिल्यै सपना देख्ने छैन । कक्षाकोठाको ह्वाइट बोर्डमा गणितको सुत्र लेख्ने मेरो जीवन नै मेरो असली एक्सन रहेछ ।’ एक्सन–कट गर्न सधै कलाकार नै बन्नुपर्देन । जीवनमा सफल ढंगले गरिने हरेक कार्य आफैमा नाटक अर्थात् एक्सन कट नै हुन् भन्ने गहिरो सन्देश यसमा छ ।
बजारमा पुस्तक र सिनेमाको समीक्षाहरु पढेपछि मात्र म चलचित्र हेर्छु र पुस्तक पढ्न सुरु गर्छु । सहकर्मी, विद्यार्थी र साथीभाइबाट सकारात्मक प्रतिक्रिया पाएपछि मात्र मैले विनोदबाबु रिजालको ‘नैबेद’ पढ्न सुरु गरे । पहिलोचोटी ‘एकान्तबास’ पढ्दा खासै प्रभावित नभएको मलाई यो पुस्तकले भने मजाले तान्यो । एक बसाइमा झण्डै सातवटा कथा पुरा गरेँ भने अर्काे बसाइमा सबै पुस्तक सकियो । बदलिँदो समाज, संस्कृति र सामाजिक परिवेश बुझ्नको लागि पुस्तक पर्याप्त छ । झुस्स दारी र कपाल पालेको अली फरक शैलीको व्यक्तित्व भएका कथाकारले कथासङ्ग्रहमा पनि फरक शैली र विषयवस्तुलाई प्रस्तुत गरेका छन् । कथाहरु आजको पुस्ताले पढ्न लायक छन् । एउटा असल कथामा हुनुपर्ने सबै गुणहरु कथामा छन् । राम्रो कथा भनेको पाठकको मुटुसम्म पुग्ने, उसलाई हँसाउने, रुवाउने र सोच्न बाध्य बनाउने कथा हो । यी सबै पक्ष नैबेदमा पाइन्छ । संवाद स्वभाविक, छोटो र पात्रको स्वभाव अनुसारका छन् । अनावश्यक विश्लेषण र लामा वर्णन कथामा छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



















