Breaking News

चितवनको साहित्यिक राजमार्गमा ‘नैबेद’ कथा सङ्ग्रहको छलाङ्

पुस्तक समीक्षाः

Banner
मधुसूदन दवाडी  
चितवन, भदौं २९–
 धादिङको जोगिमारामा हुर्किएर चितवनलाई कर्मथलो बनाउँदै आएका पत्रकार विनोदबाबु रिजाल ‘नैबैद’ कथासङ्ग्रह मार्फत् कथाकारको रुपमा अवतरित भएका छन् । सत्य र तथ्यसँग खेल्ने पत्रकार एकाएक काल्पनिक पात्रहरु जोडेर गहिरो र बलियो विषयवस्तुमा १४ वटा कथालाई सङ्ग्रहित गरेर पाठकहरुको लागि ‘नैबेद’ ल्याएका छन् । पत्रकारिता क्षेत्रमा लामोसमय कलम चलाएर होला उनको कथाका पात्रहरुको प्रभावकारी भाषा शैली र संवाद पाइन्छ । जसरी साहित्य र पत्रकारिता विद्या एक आपसमा अन्तरसम्बन्धित छन् त्यस्तै खालको सम्बन्ध उनको कृतिमा पनि देखिन्छ ।
सामाजिक विषयवस्तुलाई बुझ्ने र व्याख्या गर्ने शैली उनले समाचार डेस्कको अनुभवबाट कथासङ्ग्रहमा स्थापित गर्न सफल भएका छन् । शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको कथासङ्ग्रह २६४ पृष्ठको छ । रिजालको पहिलो कथासङ्ग्रह भए पनि कथाका विषयवस्तु भाषा शैली, जीवन्त पात्र, चरित्र चित्रण, कथावस्तु, मनोरञ्जक परिवेशलाई अध्ययन गर्दा कथाकार निकै परिपक्क र अनुभवी कथाकारको रुपमा देखिएका छन् । उनको कृति र लेखनशैली अग्रज कथाकारकै हाराहारीमा पुगेको छ । सरल अर्थमा भन्दा उनको कथा लेखन शैली चितवनको साहित्यिक राजमार्गमा नयाँ उडान भर्दे दौडिएको छ । उनको गतिले अन्य कयौं साहित्यकारहरुलाई पछाडि धकेलेको छ । पहिलो प्रयासमा यो तहको परिपक्क कथासङ्ग्रह सिर्जना गर्ने सक्ने रिजालको क्षमतालाई चानचुने मान्न सकिन्न । उनी कथा लेखनको अग्रपंक्तिमा उभिन सफल भएका छन् ।
कथाकार रिजालले कथामा केही नयाँ विषयवस्तुलाई समेटेका छन् । शब्द, शीर्षक र आशय नयाँ छ जसले अहिलेको जेनजी पुस्ताको प्रतिनिधित्व गर्छ । अहिलेको समकालिन नेपालको युवाहरुको जीवनका जोडिएका विषयवस्तु प्रविधिको लत, वैदेशिक रोजगारी, प्रेम, धोका, निसन्तान पनको पीडा जस्ता नविन खालका विषयवस्तुलाई कृतिले उठाएको छ । कथाकारको जीवनका उतारचढावलाई राम्रोसँग बुझ्ने पाठकले उनकै आफ्नै कहानीहरु र जीवनका आरोह तथा अवरोहलाई पुस्तकमा लिपिबद्ध गएिको जस्तो अनुभव गर्छन् । पहिलो कथा ‘अर्की गर्लफ्रेन्ड’मा एआईसँगको गफले निकै रमाइलो अनुभूति दिन्छ । यसले भविष्यमा एआईले ल्याउन सक्ने जोखिमहरुको बारेमा मार्गदर्शन गरेको छ । एकातिर एआईसँग लाग्ने लतले युवाहरुमा एक्लोपन, बेचैन र निराशा बढाउन सक्छ भन्ने सन्देश यस कथाले दिएको छ । दोस्रो कथा माइलीले नेपालको ग्रामीण परिवेशमा रहेको सामाजिक वास्तविकतालाई प्रष्ट पारेको छ । वैदेशिक रोजगारी र रक्सीको कुलतले कसरी जीवन र सम्बन्धमा कसरी उत्तारचढाव ल्याउँछ भन्ने बुझ्न सकिन्छ । यो कथा पढ्दा आफ्नै गाउँघर, छरछिमेकको कहानी पढिरहे जस्तो लाग्छ । माइलीले कोठा छोड्दाको वर्णन मन छुने खालको छ । जसले सन्तानप्रतिको मायालाई मन छुने ढंगबाट प्रस्तुत गर्छ । त्यस्तै, केही समय शिक्षण पेसामा पनि जोडिएका कथाकारले ‘टाई’ कथामा नेपालमा चल्ने कोचिङ कक्षा र अध्ययन भारीलाई देखाउँदै ध्रुव सर र मुक्ति सरमार्फत् परम्परागत शिक्षण सिकाइ क्रियाकलापमाथि व्यङ्ग्य गर्न सफल भएका छन् । टाई लगाए ठूलो मान्छे बनिन्छ भन्ने सामाजिक संस्कार र संस्कृतिलाई पनि व्यङ्ग्य गरेको छ । कसरी समाजले एउटा विद्यार्थीलाई आत्महत्या गर्न बाध्य पार्छ भन्ने विषयलाई यहाँ राम्रोसँग बुझ्न सकिन्छ । शिक्षा मानवताको सेवामा हुनुपर्छ भन्ने राम्रो सन्देश कथाले दिएको छ ।
चौथो कथा ‘लिली गार्डेन’ असफल प्रेम कहानीको विषयमा र ‘क्याप्टेन  डाँडा’ मा माओवादी द्वन्द्वको पीडा देखाउँदै समकालिन नेपाली राजनीतिमाथि व्यङ्ग गरिएको छ । जसले क्याप्टेन बालाई यातना दियो त्यही माओवादी नेता बाको शालिक अनावरण गर्न पुग्नुलाई कथाले माओवादीको दोहोरो चरित्रलाई उदांगो बनाएको छ । नैबैदमा सङ्ग्रहित छैठो कथा ‘दोस्रो बिहे’ सामाजिक विकृति बोक्सी प्रथामा आधारित छ । यसमा नारीको पीडा र मनोविज्ञानलाई सजिलै बुझ्न सकिन्छ । ‘अन्तिम चुम्बन’ मा अस्पतालको बिल तिर्न नसकेर बेपत्ता भएको मिलनले गरिबीको पीडा बोलेका छन् भने ‘भोग’ कथाले बलीलाई नैबेदको रुपमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी अपहरण, अकाल, बाध्यता जस्ता कथामा कोरोना कहर, वैदेशिक रोजगारीको बाध्यता जस्ता विषय समेटिएका छन् । अकाल कथा पढ्दा कथाकारको पहिलो कृति ‘एकान्तबास’को स्मरण हुन्छ । ‘शिविर’ मा निःसन्तान हुनुको पीडा र झन्झटलाई देखाइएको छ भने ‘एक्सन कट’ युवा पुस्ताको चलचित्र क्षेत्रमा काम गर्न खोज्ने आकर्षणलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । शिक्षण पेसा गर्दे आएको व्यक्त चलिचित्र सुटिङको लागि भन्दै विभिन्न हन्डर ठक्कर खान्छ । अन्तत ऊ चलचित्र क्षेत्रबाट दिक्दार बन्छ । उसले भन्छ, ‘ अब म फेरि कहिल्यै सपना देख्ने छैन । कक्षाकोठाको ह्वाइट बोर्डमा गणितको सुत्र लेख्ने मेरो जीवन नै मेरो असली एक्सन रहेछ ।’ एक्सन–कट गर्न सधै कलाकार नै बन्नुपर्देन । जीवनमा सफल ढंगले गरिने हरेक कार्य आफैमा नाटक अर्थात् एक्सन कट नै हुन् भन्ने गहिरो सन्देश यसमा छ ।
बजारमा पुस्तक र सिनेमाको समीक्षाहरु पढेपछि मात्र म चलचित्र हेर्छु र पुस्तक पढ्न सुरु गर्छु ।  सहकर्मी, विद्यार्थी र साथीभाइबाट सकारात्मक प्रतिक्रिया पाएपछि मात्र मैले विनोदबाबु रिजालको ‘नैबेद’ पढ्न सुरु गरे । पहिलोचोटी ‘एकान्तबास’ पढ्दा खासै प्रभावित नभएको मलाई यो पुस्तकले भने मजाले तान्यो । एक बसाइमा झण्डै सातवटा कथा पुरा गरेँ भने अर्काे बसाइमा सबै पुस्तक सकियो । बदलिँदो समाज, संस्कृति र सामाजिक परिवेश बुझ्नको लागि पुस्तक पर्याप्त छ । झुस्स दारी र कपाल पालेको अली फरक शैलीको व्यक्तित्व भएका कथाकारले कथासङ्ग्रहमा पनि फरक शैली र विषयवस्तुलाई प्रस्तुत गरेका छन् । कथाहरु आजको पुस्ताले पढ्न लायक छन् । एउटा असल कथामा हुनुपर्ने सबै गुणहरु कथामा छन् । राम्रो कथा भनेको पाठकको मुटुसम्म पुग्ने, उसलाई हँसाउने, रुवाउने र सोच्न बाध्य बनाउने कथा हो । यी सबै पक्ष नैबेदमा पाइन्छ । संवाद स्वभाविक, छोटो र पात्रको स्वभाव अनुसारका छन् । अनावश्यक विश्लेषण र लामा वर्णन कथामा छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>