राजनीति
गण्डकी प्रदेशमा भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो

पोखरा, भदौ १६-
भागबन्डा मिलाउन गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या ७ बाट ९ पुर्याएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले दुई वटा मन्त्रालय फुटाउने निर्णय गरेको हो । सामाजिक विकास तथा स्वास्थ्य र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई सरकारमा ल्याउन मन्त्रालय बढाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाउने छ । हाल भौतिक पूर्वाधारमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र उर्जा तथा खानेपानीमन्त्री रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा कांग्रेसको ५ भित्रै पर्ने छन् । एमालेले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागिसकेको मुख्यमन्त्री पाण्डेले बताए ।
कांग्रेस र एमालेको दलीय सहमतिकै आधारमा मन्त्रालयको संख्या बढाइएको उनको भनाइ थियो ।

























