चितवन विशेष
भारतमा पहिरोमा परेर मृत्यु भएका चितवन माडीका ३ जनाको शव नेपाल ल्याइयो

चितवन, भदौ ८–
केहीदिन अघि भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका चितवनको माडीका तीनजनाको शव नेपाल ल्याइएको छ । आज (शनिबार) दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल घरतर्फ ल्याइएको हो ।
पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ ।
आज रातिसम्म घरमा पुगेपछि भोलि अन्तिम संस्कार गरिनेछ,’ मृतक तुलबहादुरका भान्जा गोपाल परियारले भने, ‘हिजो नै बद्रीनाथबाट हिँडेका हौं, बाटो खराब भएकाले धेरै समय लाग्यो ।’ गोपालको परिवार र मृतक चारैजनासँगै काम गर्दै आएका थिए ।
पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको गोपालले बताए । बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो । मृतक चारै जनाको बद्रीनाथस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको हो ।
























