चितवन विशेष
बरेङ्ग-नवलपुर-चितवन समाज गठन,अध्यक्षमा टंकनाथ आचार्य चयन

चितवन, भदौ ८-
चितवनमा “बरेङ्ग नवलपुर चितवन समाज” गठन गरिएको छ । बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिकाबाट बसाइँसराई गरी चितवन, नवलपुर र देवघाट क्षेत्रमा बसोबास गर्दै आएकाहरुलाई समेटेर शुक्रबार “बरेङ्ग नवलपुर चितवन समाज” गठन गरिएको हो ।
भरतपुरमा सम्पन्न भेलाले टंकनाथ आचार्यको अध्यक्षतामा १७ सदस्सीय समिति समेत बनाएको छ । समितिको उपाध्यक्षमा मुक्ति न्यौपाने र लक्ष्मी गौतम पौडेल ,सचिवमा सुर्य पौडेल र कोषाध्यक्षमा चिन्तामणी पौडेललाई चयन गरिएको छ । यस्तै सदस्यहरूमा हेमराज आचार्य, शिव पौडेल, विष्णु ढुंगाना, टेकनारायण पौडेल, शारदा पौडेल, प्रेम केसी, राधिका न्यौपाने, डम्बर बहादुर थापा, लक्ष्मी आचार्य, जिवराज आचार्य, कलाधर पौडेल र कृष्ण पौडेल रहनुभएको छ ।
नवगठित सो समितिका अध्यक्ष टंक आचार्यले बरेङ्ग गाउंपालिकाबाट नवलपुर, चितवन र देवघाट क्षेत्रमा बसाइँसराइ गरी आउनुभएका सम्पूर्ण बन्धुहरुको साझा हितमा काम गर्ने उद्देश्यले समिति गठन गरिएको बताउनुभयो । उहाँले यस समाजले बरेङ्ग गाउँपालिका क्षेत्रबाट यस क्षेत्रमा आएका सबैलाई बृहत रुपमा समेटेर अगाडि बढ्ने बताउनुभएको छ ।
“बरेङ्ग गाउँपालिका बाग्लुङको दक्षिण भेगका साविक धुल्लुबास्कोट, हुग्दिसिर, बाटाकाचौर, सल्यान र सुखौरा गरी पाँच वटा गाविस मिलेर बनेको गाउँपालिका हो । त्यहाँबाट चितवन, नवलपुर र देवघाट क्षेत्रमा बसाइँसराइ गरी हजारौँको संख्यामा आएका छन् । उनीहरुलाई एकत्रित गर्नका लागि समिति गठन गरिएको समितिका सदस्य विष्णु ढुंगानाले जानकारी दिनुभयो ।
समितिले आउँदै गरेको हरितालिका (तीज)को अवसरमा भदौ १६ गते भरतपुर १० स्थित कालिका मन्दिर परिसरमा दर खाने कार्यक्रम राखेको छ । यस कार्यक्रमका लागि संस्थाकी उपाध्यक्ष लक्ष्मी गौतम पौडेलको संयोकत्वमा ७ सदस्यीय तिज कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । यस कार्यक्रममा विगतमा बरेङ्गबाट बसाइँसराइ गरी चितवन, नवलपुर र देवघाट क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण समुदाय र समुदायका चेलीबेटीलाई सहभागि हुन उहाँले अनुरोध समेत गर्नुभएको छ ।


























