समाचार
त्रिविमा रोकिएन दलीय राजनीतिको आतंक

काठमाडौं, भदौ ८-
अभियुक्तलाई खुलेआम छाडेपछि शान्तिसुरक्षामा खलल पुग्छ भन्ने प्रमाण त्रिभुवन विश्वविद्यालय (त्रिवि) बनेको छ। केही वर्षअघि उपप्राध्यापकमाथि सांघातिक हमला गर्ने व्यक्तिले फेरि त्यस्तै धम्की दिएको भन्दै प्राध्यापकहरूले त्रिविमा असुरक्षा बढेको भन्दै टिप्पणी गरिरहेका छन्।
चार वर्षअघि त्रिवि समाजशास्त्र संकायको केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि योगेन्द्र रावलले विश्वविद्यालय प्रांगणमै सांघातिक हमला गरेका थिए। विभागीय प्रमुखको नियुक्तिलाई लिएर रावलले विभागमा ९० दिनदेखि तालाबन्दी गरेका थिए।
यो समाचार नागरिक दैनिकमा छ, तालाबन्दीले पठनपाठनमा समस्या खडा भएको भन्दै विभागका उपप्राध्यापक चलाउनेले ताला खोल्नुपर्ने आवाज उठाएपछि उनीमाथि रावलले सांघातिक हमला गरेका थिए।
निवर्तमान विभागीय प्रमुख युवराज लुइँटेलको चार वर्षे कार्यावधि सकिएपछि फेरि नयाँ विभागीय प्रमुखको नियुक्तिमा टीकाराम गौतम बाधक बनेका छन्।
हाल सिफारिस भएकामध्ये गौतम दोस्रो वरीयतामा परे पनि उनको विभागीय प्रमुख बन्ने महत्त्वाकांक्षाले गर्दा समग्र समाजशास्त्र विभाग नै विवादमा तानिँदै आएको बताइन्छ। चार वर्षअघि पनि विभागले विभागीय प्रमुखका लागि योग्यता र वरिष्ठताका आधारमा लुइँटेलको नाम सिफारिस गरेको थियो। तर गौतमकै उक्साहटमा योगेन्द्र रावलले लुइँटेललाई फेल गराएर गौतमलाई विभागीय प्रमुखमा नियुक्त गर्नुपर्ने माग राखेर विभागमा तालाबन्दी गरेको दुई महिनाभन्दा बढी भएको थियो। ताला खोलाउने प्रयास गर्दा आफूमाथि नै रावलले प्राणघातक हमला गरेको उपप्राध्यापक चलाउनेले बताए।
‘चार वर्षअघि पनि रावलले ममाथि विभागीय प्रमुखकै नियुक्तिलाई लिएर सांघातिक हमला गरेका थिए। जिल्ला अदालत काठमाडौंले दुई वर्ष जेल र जरिवाना सजाय तोकेको छ।
‘उनी अभियुक्त हुन्। राजनीतिक शक्तिको दुरुपयोग गरी उनी धरौटीमा रिहा भएका हुन्,’ उपप्राध्यापक चलाउनेले भने, ‘अझै पनि उच्च अदालत पाटनमा पुनरावेदन छ। गुरु कुट्नेलाई जेल राखेर अनुसन्धान गर्नुपर्नेमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको संरक्षणमा अभियुक्त रावलले सामाजिक अपराध गर्न छुट पाए।’
उनले थपे, ‘चार वर्षपछि पुनः घटना दोहोरिएको छ। फेरि पनि समाजशास्त्र विभागकै विभागीय प्रमुखको नियुक्तिको विषयलाई लिएर अभियुक्त रावलले विश्वविद्यालयका पदाधिकारीलाई धम्की दिइरहेका छन्। अर्को प्रेम चलाउने बनाइदिने धम्की दिएपछि विश्वविद्यालयको शान्तिसुरक्षामा खलल पुगेको छ।’
तिनै अभियुक्त अहिले गृहमन्त्री रमेश लेखकसँग देखिएपछि फेरि पनि अपराधीलाई राज्यले संरक्षण गरेको भन्दै त्रिविका प्राध्यापक, पदाधिकारी तथा शिक्षामन्त्रीले विरोध जनाएका छन्। अहिले पनि विवादको कारण गौतम नै बनेका छन्।
विभागीय प्रमुख रहँदै आएका लुइँटेलको कार्यकाल सकिएको छ। विभागले वरिष्ठताका आधारमा पासाङ शेर्पा र दोस्रो वरिष्ठतामा गौतमलाई विभागीय प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ।
























