कास्की
भड्किलो रुपमा तीज नमनाउन कास्की प्रशासनको उर्दी,अटेर गरे कारवाहीको चेतावनी

पोखरा,भदौ ६-
जिल्ला प्रशासन कार्यालय कास्कीले तीज भड्किलो बन्दै गएको जिकिरसहित सामाजिक सद्भाव बिगार्ने र खर्चिला कार्यक्रम नगर्न उर्दी जारी गरेको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीबाट बिहीबार जारी सूचनामा तीज यही भदौको २१ देखि २३ गतेसम्म रहे पनि अहिलेदेखि नै विभिन्न संघरसंस्थाको नाममा होटल र पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकपूर्ण तरिकाले खर्चिला कार्यक्रम, ध्वनी प्रदूषण र गरगहना प्रदर्शन भएको जिकिर गर्दै यस्तो प्रवृत्तिले तीजको मौलिकतामा आँच आउनुका साथै विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको दाबी गरिएको छ।
सूचनामा आफ्नो परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तता र सम्बद्र्धनबाहेक भड्किला कार्यक्रम नगर्न भनिएको छ। त्यस्तो कार्य गरेमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ र अन्य प्रचलित ऐन अनुसार कारवाही गरिने पनि सूचनामा उल्लेख छ।

























