समाचार
चालू आर्थिक वर्षको साउन महिनामा घरजग्गा कारोबारमा १२ प्रतिशतको वृद्धि

काठमाडौं,भदौ ५-
चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा घरजग्गाको कारोबार १२ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
चालू आवको साउन महिनामा भने ४३ हजार आठ सय ३५ वटा यस्तो कारोबार भएका छन् । गत आव ०८०/८१ को साउनमा ३९ हजार दुई सय ६३ वटा घरजग्गा किनबेच भएका थिए । गत आर्थिक वर्षभरिमा भने पाँच लाख ३७ हजार दुई सय ९५ वटा कारोबार भएका थिए । लिखित पारितका आधारमा यतिका घरजग्गाका कारोबार भएका हुन् ।
सामान्यतः साउन महिनामा घरजग्गा कारोबार कम हुन्छन् । तर, सोही महिनामा यस्तो कारोबार बढेको तथ्यांकले पुष्टि गरेको छ । सरकारले कित्ताकाटमा गरेको कडाइ, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव तथा उच्च ब्याजदर र आर्थिक शिथिलतालगायतका कारण पछिल्लो दुई वर्षयता नेपालमा घरजग्गा कारोबार सुस्ताएको थियो । तर, चालू आवमा त्यस्तो कारोबार बढ्ने संकेत देखिएको छ । यद्यपि, यस्तो कारोबार पहिलाको अवस्थामा अझै पुगेको छैन । पहिला मासिक ७०–८० हजार हाराहारीमा यस्तो कारोबार हुने गथ्र्यो ।
साउनमा काठमाडौं उपत्यकामा मात्रै झन्डै चार हजारवटा घजग्गा कारोबार भएको देखिन्छ । उपत्यकाभित्रका भूमिसुधार तथा मालपोत कार्यालयहरूबाट साउनमा तीन हजार नौ सय २१ वटा घरजग्गा कारोबार भएका छन् ।
























