चितवन विशेष

पुंगी र केरुङ्गा खोलाको सुन्दरता बढाउन ३६ करोड बजेट

Banner

चितवन, भदौ ४- 

भरतपुर महानगरपालिका भित्रका पुंगी र केरुङ्गा खोलाको नाला संरक्षण र सौन्दर्यीकरण गरिने भएको छ। खोलाको अतिक्रमण बढ्दै गएपछि महानगरपालिकाले खोलालाई सिमाङ्कन र सौन्दर्यीकरण गर्न लागेको हो।

महानगरपालिकाले खोला सौन्दर्यीकरणका लागि यस वर्ष ३६ करोड बजेट विनियोजन गरेको छ। पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यीकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण रहेको महानगरपालिकाका इन्जिनियर साकार लामाले बताए।

पुंगी खोला भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने गर्दछ। ३० किलोमिटरको दुरीमा रहेको केरुङ्गा खोला भने भरतपुर–११ बाट राप्ती नदीसम्म बग्ने गर्दछ। यहाँ वृक्षारोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन्।

त्यसका लागि चालु आर्थिक वर्षमा केरुङ्गा खोलाको सौन्दर्यीकरण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै पुंगी खोलाको काम दुई खण्डमा हुने इन्जिनियर लामाले जानकारी दिए। उनका अनुसार पहिलो खण्डमा ९ करोड रुपैयाँ र दोस्रो खण्डमा ७ करोड बजेट विनियोजन गरिएको छ।

महानगरपालिकाले खोला किनार संरक्षण गर्दै पर्यटकीय गतिविधि बढाउनका लागि गुरुयोजना बनाएर नै काम थालेको हो। महानगरपालिकाले गत वर्षदेखि पुंगी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढाएको थियो।

वडा नम्बर २, ३, ४ र ११ मा खोलाको सिमाङ्कन गरिएको छ। ६ किलोमिटर लम्बाइ रहेको पुंगी खोलाको चौडाइ १० देखि ४० मिटरसम्म छ। पहिलो चरणमा कार्यअन्तर्गत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको कम भइसकेको इन्जिनियर लामाले जानकारी दिए।

यस्तै, भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा खोलको किनारमा पुंगी कोलामा जस्तै सौन्दर्यीकरण गरिनेछ। भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट सुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १२, १३, १४, १६, २२ र २३ हुँदै केरुङ्गा खोला बनेर राप्ति नदीमा मिसिन्छ। भरतपुरको मुख्य क्षेत्रका ढलको पानी यसै खोलामा मिसाइने गरिन्छ।

केरुङ्गा खोलाले महानगरपालिकाको आधा जनसंख्यालाई असर पार्ने गर्दछ। यो जिल्लामा पानी बग्ने नारायणी र राप्ती नदी पछिको महत्त्वपूर्ण घोल हो। यहाँ भविष्यमा डुङ्गा चलाउन सक्नेगरी काम गर्ने लक्ष्य महानगरको छ।

महानगरले खोलाको दुवै पट्टी छेउमा साइकल लेनसँगै पैदल यात्रा गर्न मिल्ने गरी हरियाली बनाइने बताएको छ। केरुङ्ग खोला अतिक्रमणमा समेत परेको छ। यहाँको दायाँबायाँ क्षेत्र नक्सामा कम्तीमा तीन मिटरभन्दा बढी रहे पनि अधिकांश क्षेत्रमा अतिक्रमण गरिएको छ। त्यसको सिमाङ्कनको काम सकिएको छ।

बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पानी व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यीकरण र व्यवस्थापनमा लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>