खेलकुद
नेपाल प्रिमियर लिगको लोगो र मिति सार्वजनिक

काठमाडौं, भदौ ४-
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ ।
नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गरे।
उनले क्रिकेट पूर्वाधारको अभावमा पनि सङ्घ, खेलाडीहरूको त्याग, तपस्यामा नेपाली क्रिकेटले विश्वमा आफ्नो नाम उचो बनाएको र यस्तो प्रेरणादायी खेललाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए। मन्त्री चौधरीका अनुसार त्यसैले पनि सरकारले त्रिवि अन्तर्राष्ट्रिय मैदानको स्तरोन्नति तीव्र गतिमा गर्ने निर्णय गरेको हो। उनले नेपालमा धेरैभन्दा धेरै क्रिकेट रङ्गशाला बन्ने क्रममा रहेको जानकारी पनि गराए। मन्त्री चौधरीले नेपाल प्रिमियर लिगका लागि सरकारबाट पूर्ण सहयोग हुने आश्वासन पनि दिए।
यसै गरी सो कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीले शुभकामना सन्देश दिएका थिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले पनि एनपिएलको प्रतियोगितालाई सहज बनाउन ‘डेडिकेटेड डेस्क’ राख्न लगाउने प्रतिबद्धता व्यक्त गरे। यसले लिगमा समावेश हुने विदेशी क्रिकेटरको भिसासम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न पनि मद्दत गर्ने छ ।
क्यानले २० महिनाअघि फ्रेन्चाई अवधारणामै नेपाल टी–२० क्रिकेट लिगको आयोजना गरेको थियो तर सो लिग सफल हुन सकेन। यद्यपि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतबाट शिक्षा लिएर एनपिएललाई भारतमा हुने फ्रेन्चाई लिग आइपिएल जस्तै ब्रान्ड बनाउने बताए। यो क्यानको पहिलो आधिकारिक नेपाल प्रिमियर लिग हो।
























