विचार/ब्लग

क्वाँटी के हो र किन खाने ?

Banner

डा. नरनाथ पाण्डे

विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने क्रममा जनै पूर्णिमाको दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गिन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनै पूर्णिमाको अवसरमा विशेष खानाको रुपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । क्वाँटी खाने प्रचलन कहिलेदेखि सुरु भएको हो एकिनका साथ भन्न सकिंदैन तथापि यो विशेष गरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र क्वाँटीको झोल खाने प्रचलन रहेको पाईन्छ ।

वास्तवमा नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ । यो आलेख क्वाँटी के हो, यो किन सेवन गरिन्छ, यसको महत्व के छ र यसले पु¥याउने फाइदा के के छन् भन्ने बारेमा नै बढी केन्द्रित हुनेछ ।

क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीहरूको समिश्रण पाईन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समयमा, मौसम परिवर्तन हुने समयमा र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीहरूको रस खाने प्रचलन छ । धार्मिक तथा सांस्कृतिक प्रचलनका रुपमा कुनै समुदायबाट आएको प्रचलन अहिले चर्चाको विषय बनेको छ र यो खानेकुरा अब कुनै विशेष जातिविशेषको नभई सबैको साझा विषय बन्न पुगेको छ । किनकि यसका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारणहरू लुकेका छन् जसले शरीरलाई फाइदा पु¥याउँछन् । यसरी शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरू लाग्नबाट बचाउन वा शरीरको रोगविरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने प्रचलन चलिआएको हो ।

क्वाँटी पनि यस्तै विभिन्न गुणहरुले भरिएको हुनाले सांस्कृतिक पर्व मान्नका लागि मात्र नभई क्वाँटीलाई असाध्यै वैज्ञानिक पौष्टिक खाना मानिने हुँदा यसको प्रचारप्रसार गर्न पनि जरुरी छ । क्वाँटीमा पाइने विभिन्न पौष्टिक पदार्थले ऊर्जा प्राप्त हुने, शरीरमा रोग व्याधि र परिश्रमका कारण कोषहरूमा आएका समस्या समाधान हुने, शारीरिक वृद्धि विकासमा वा शरीरको मर्मत सम्भारमा सहयोग पुग्ने, व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्ने र रोग लाग्नबाट बचाउन सक्छ । त्यसकारण क्वाँटीको सेवन सुरुमा सांस्कृतिक मूल्यमान्यताबाट प्रभावित भएर विशेष समुदायबाट सुरु गरिएता पनि यसबाट विभिन्न फाइदाहरू पाउन सकिने हुँदा अहिले सबैको खाना बनेको छ ।

त्यसो त क्वाँटी जनैपूर्णिमाको दिन वा अघिल्लो दिन मात्र खाएर पुग्दैन । यस्ता गेडागुडीको मिश्रणयुक्त खाद्यपदार्थ सकभर हाम्रा दैनिक खानामा हुनु आवश्यक छ । हामीले खाने प्रत्येक छाकको खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी आवश्यक छ । क्वाँटीमा मुख्यगरी प्रोटिन पाइने भएकाले हाम्रो शरीरका लागि अति आवश्यक पौष्टिक तत्व प्रोटिनको आपूर्ति हुन सहयोग पुग्छ तर हामीलाई प्रोटिन मात्र खाएर हुँदैन । सन्तुलित खानाको रुपमा कार्बोहाइड्रेट र चिल्लो पदार्थ तथा भिटामिन पाइने खानाको स्रोत समेत मिलाएर खानुपर्छ । हामीले सकभर कार्बोहाइड्रेट कम, प्रोटिन केही बढी मात्रामा र अन्य खाद्यपदार्थ ठिक्क मिलाएर खानु राम्रो हुन्छ । तर खाद्यपदार्थको उत्पादन, आर्थिक अवस्था, पोषण सम्बन्धी चेतना, घरपरिवारको आकार आदिले सन्तुलित खाना प्राप्त गर्न कठिनाइ पर्ने गरेको यथार्थ नेपाली समाजमा देखापर्दछ । फलस्वरुप खाना खाँदा भात वा रोटी, आलुको तरकारी र आलुका अन्य परिकार बनाएर खाने चलन छ जसले गर्दा सन्तुलित खाना प्राप्त गर्न सकिदैन ।

यस्तो खानाबाट केवल कार्बोहाइड्रेट मात्र प्राप्त हुने र अति आवश्यक तत्व प्रोटिन, भिटामिन र खनिज तत्वको सधैं अभाव हुनेभयो । जसको परिणाम स्वरुप हामीलाई विभिन्न पौष्टिक तत्वको कमीबाट लाग्ने रोगहरु देखापर्न थाल्छन्, शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य राम्रो हुन सक्दैन र कुपोषण जस्ता समस्या देखिन सक्छन् । यस्ता समस्या अझ बढी बाल्यकाल, किशोरावस्था र वृद्धावस्थामा देखिएमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको अभावले गर्दा विभिन्न समस्याहरु थपिइ व्यक्ति मृत्युको मुखमा पुग्न पनि सक्छ । त्यसकारण सकभर हाम्रै गाउँघरमा खेतबारीमा पाइने पैसा नपर्ने वा कम मूल्य पर्ने खाद्यपदार्थलाई मिलाई सेवन गर्नु अति आवश्यक छ ।

क्वाँटी एक अर्थमा निकै पौष्टिक तत्वले भरिपूर्ण खाद्यपदार्थ भएकाले पनि यसको महत्व बढी देखिएको हो । क्वाँटी बनाउने क्रममा यसबाट बढी फाइदा पाउन विभिन्न गेडागुडीहरुलाई ३ देखि ४ दिनसम्म पानीमा भिजाएर राख्ने जबसम्म यसमा टुसा पलाउँदैन । त्यसपछि यसलाई राम्रोसँग प्रेसर कुकरमा पकाउनुपर्छ र बेसार, खुर्सानीको धुलो, नुन, तोरीका दाना, आलसका दाना, टमाटर, प्याज, लसुन र अदुवाको पेस्ट तथा विभिन्न मरमसलाको प्रयोग गरी पुनः पानी थपेर पकाएर स्वादिष्ट बनाई बाक्लो सुपको रुपमा खान सकिन्छ ।

क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ । त्यसो त जुनसुकै दलहन तथा गेडागुडीहरु दुई वा सो भन्दा बढी भएमा र टुसा उमारेर खाएमा त्यसको पौष्टिक गुणमा थप गुणस्तर आउने र विभिन्न तत्वहरु प्राप्त गर्न सकिने हुन्छ । तर हाम्रो प्रचलनमा क्वाँटी बनाउन तोकिएका गेडागुडीहरु रहेका छन् । यसरी ती तोकिएका प्रत्येक गेडागुडी तथा तिनले शरीरमा पार्ने प्रभाव, क्वाँटीको महत्व र फाइदाहरू यसप्रकार छन्–

१. राजमा (रातो मृगौला जस्तो गेडागुडी) : यो हेर्दा मृगौलाको आकार जस्तै देखिन्छ र मृगौलाको स्वास्थ्यमा प्रभावकारी छ । साथै यो गेडागुडीमध्ये निकै लोकप्रिय रहेको छ र सँगसँगै विभिन्न पौष्टिक तत्वहरूले पनि भरिएको छ । यसका फाइदाहरुमा यसले मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्टेरोल नियन्त्रण गर्छ । साथै मष्तिस्कको कार्यक्षमता बढाउने, मृगौलालाई सुरक्षा गर्ने र मुटुको समग्र स्वास्थ्य राम्रो राख्ने भएकोले सुगर रोगीलाई पनि राजमाको सेवनले फाइदा नै गर्छ । यसमा पाइने प्रोटिनका कारण यो बढी स्वास्थ्यबर्धक पनि हुन्छ । त्यस्तै यसमा प्रशस्त फाईबर पाइने हुँदा यसको नियमित सेवन गर्दा पेटका समस्या र अपच हुने समस्या पनि निराकरण हुन्छ । यसमा ईनर्जी, प्रोटिन, नगन्य चिल्लो, कार्बोहाइड्रेट, फाईबर, सुगर, क्याल्सियम, पोटासियम र सोडियम जस्ता विभिन्न तत्व पाईन्छन् ।

२. बोडी (कालो आँखा जस्तो गेडागुडी) : यस्ता गेडागुडीलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । बोडीको सेवनले मुटुका रोग नियन्त्रण, सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा, तौल कम गराउन सहयोग र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ । यसमा उच्च मात्रामा प्रोटिन लगायत अन्य विभिन्न पौष्टिक तत्वहरू पाईन्छन् ।

३. चना (चिकपिज) : अरु गेडागुडी जस्तै चना पनि प्रोटिन लगायत विभिन्न पौष्टिक तत्वहरूको भण्डार हो । यसको नियमित सेवनले तौल कम हुने, रक्तचाप सन्तुलनमा आउने, हर्मोनहरूको उत्पादन सन्तुलित हुने र मधुमेहका रोगीलाई समेत लाभदायक हुन्छ ।

४. भटमास (सोयाबिन) : भटमास पनि प्रोटिन, फाईबर तथा विभिन्न पौष्टिक तत्वहरूको भण्डार र सुपर फुड नै हो । यसको सेवनले पनि कोलेस्टेरोल नियन्त्रित हुने गर्छ । यसमा हानिकारक चिल्लो कम हुने, एन्टिअक्सिडेण्ट् तथा ओमेगा ३ फ्याटी एसिड प्रशस्त पाईन्छ ।

५. मुङ्ग (मुङ्गको दाना) : यो पोटासियम, म्याग्नेसियम र फाईबर प्रशस्त पाइने गेडागुडी हो । यसको नियमित सेवनले मुटुका रोगहरू, रक्तचाप र कोलेस्टेरोल नियन्त्रण गर्दछ ।

६. मास (कालो ग्राम दाना) : यसमा पनि अन्य गेडागुडीमा जस्तै प्रशस्तै विभिन्न पौष्टिक तत्वहरू पाईन्छन् । यसको सेवन गर्नाले पाचन प्रणाली, हाडजोर्नी, प्रजनन् प्रणाली, मुटु र मृगौलाको कार्यक्षमता बढाउँछ । कलेजोलाई सक्षम बनाउन, उच्च रक्तचाप कम गर्न, रगतमा सुगरको मात्रा घटाउन र स्नायु प्रणालीको क्षमता बढाउन समेत यसको सेवन गर्न सकिन्छ । साथै यो पेट दुखाई, पाईल्स्, कब्जियत जस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

७. बकुल्ला : यो हाडजोर्नीको स्वास्थ्य र प्रतिरोध क्षमता अभिवृद्धि गर्ने फाइदाजनक गेडागुडी हो । यसका साथै यसको सेवनले स्नायुको कार्यक्षमता बढाई पार्किन्सन्स् रोग (मस्तिष्कको कडा समस्या) मा फाइदा पु¥याउँछ भने रक्तअल्पता कम गर्ने, तौल कम गर्ने, रक्तचाप व्यवस्थित गर्ने र कोलेस्टेरोल कम गर्ने जस्ता काम पनि गर्छ ।

८. केराउ : केराउको सेवनले पाचनप्रणालीको कार्यलाई सुधार गर्ने, मेटाबोलिज्म् बढाउने, मुटुको स्वास्थ्यलाई राम्रो बनाउने र सुगरको मात्रा समेत नियन्त्रण गर्ने काम गर्छ ।

९. सेतो सीमी/गेडागुडी : यो स्वस्थकर शारीरिक तौल बनाउन, मांसपेशी बलियो बनाउन र पाचन प्रणाली राम्रो बनाउन लाभदायक छ ।

अन्तमा,
क्वाँटी हाम्रो सांस्कृतिक प्रचलनको रुपमा जनैपूर्णिमाको अवसरमा खाने खाद्यपदार्थ हो तापनि यसको सेवन गर्नु अति आवश्यक छ । नियमित रुपमा सबै नौ किसिमका गेडागुडीयुक्त सुप बनाएर खान नसकिएता पनि जति उपलब्ध छ त्यति नै मिश्रण गरी वा मिश्रण नै नगरी कुनै एक किसिमको भए पनि गेडागुडी हामीले प्रत्येक खानामा खानु आवश्यक छ । यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शङ्का छैन । गर्भवती महिला, स्तनपान गराउने महिला, बच्चा, किशोर किशोरी र वृद्धहरुका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो । घर परिवारमा सबैले यसको सेवन गर्ने गरेमा रोगरहित ऊर्जावान् परिवारको कल्पना गर्न सकिन्छ ।

डा. नरनाथ पाण्डे
(सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक, जीवनशैली व्यवस्थापनमा विद्यावारिधि तथा प्राध्यापक मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>