चितवन विशेष
चितवन माडीकी रक्तक्यान्सर पीडित भट्टराईको उपचारमा आर्थिक अभाव

चितवन, भदौ १-
चितवनको माडी नगरपालिका–५ ब्रह्मपुरी निवासी रक्त क्यान्सर पीडित ३३ वर्षीय नैना देवी भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ । सामान्य परिवारकी भट्टराईकाे उपचारमा रकम अभाव भएपछि आर्थिक सहयाेग संकलन गर्ने अभियान सुरू गरिएकाे छ । करिब एक महिनाअघि रक्त क्यान्सर पहिचान भई हाल भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचाररत भट्टराईको उपचारमा आर्थिक अभाव भएको उनका श्रीमान प्रकाश भट्टराईले बताए ।
रक्त क्यान्सरको उपचार प्रभावकारी भए छिटो निको हुने चिकित्सकहरुले बताएपछि उपचारको लागि दिल्ली लगेको उनले बताए । उपचार गर्न पैसाको अभाव भएपछि आर्थिक सहयोग संकलन गर्ने काम पनि सुरु भएको उनले जानकारी दिए ।
उपचार गर्दा हालसम्म १३ लाख रुपैयाँ भारू खर्च भइसकेको र निको हुँदासम्म कम्तिमा ५० लाख नेपाली रुपैयाँ लाग्ने कुरा चिकित्सकले बताएको उनले बताए । स्वदेश र विदेशबाट गरी हालसम्म करिब पाँच लाख रुपैयाँ संकलन भएको छ । अस्पताललाई दुई लाख रुपैयाँ भारु तिर्न बाँकी रहेको उनले बताए ।
‘उपचार गर्न पैसा अपुग हुने भएपछि नैना देवी बचाउ अभियानको नाममा बैंक खाता खोली आर्थिक सहयोग संकलन गर्न थालिएको छ । विदेशमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुले पनि स्वतस्फुर्त रुपमा सहयोग संकलनको काम गरिरहनुभएको छ’, उनले भने । उपचारमा ठूलो रकम खर्चिनुपर्ने भएकोले सक्दो सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे ।
कुमारी बैंकको माडी शाखामा रहेको ‘नैना देवी भट्टराई बचाउ अभियान’को खाता नम्बर १६४०३१७१६०३००००१ मा वा एनआइसी एसिया बैंकमा प्रकाश भट्टराईको नाममा रहेको खाता नम्बर १०४५७५३१६९४४६००१ मा आर्थिक सहयोग जम्मा गर्न सकिने उनले बताए ।
रक्त क्यान्सर पीडित भट्टराईको एक छोरा र एक छोरी छन् । घरायसी कारोबार मिलाउने क्रममा ऋण लागेपछि भट्टराई दम्पत्ती नै दुबई गएका थिए । वैदेशिक रोजगारीकै क्रममा नैनालाई क्यान्सरले छोएको हो ।


























