चितवन विशेष
प्रेस चौतारीको भवन निर्माणका लागि सेन्ट्रल कलेजको २ लाख सहयोग
चितवन, साउन २९-
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ । कलेजले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहयोग गरेको हो ।
उक्त सहयोग रकम कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ९वाईबी० ले प्रेस चौतारी चितवनका अध्यक्ष सुबास पण्डितलाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा पौडेलले भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनको अवलोकन पनि गर्नुभएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै उहाँले प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
चौतारीको भवनका लागि आफूले २ बर्ष अगाडि चौतारी साँझ कार्यक्रममा पनि सहयोग गरेको स्मरण गर्दैै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा चौतारी चितवनको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । सेन्ट्रल कलेजले जिल्लामा खेलकुद, सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण साथ र सहयोग दिँदै आएको भन्दैं अध्यक्ष पण्डितले सबैको साथ र सहयोगबाट चौतारीको ३ तले भवन तयार हुँदै गरेको बताउनुभयो । चौतारीको भवन निर्माणमा होस्टेमा हैंसे गरेर साथ र संगठन प्रति सेन्ट्रल कलेजले दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताउनुभयो ।
समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवन तीन तलाको बन्दैछ । भवनको सबै ढलानको काम सकेर अहिले प्लाष्ट्रर गर्ने क्रम अन्तिम चरणमा छ । भवनको भूईं तलामा कार्यालय कक्ष, पहिलो तलामा हल र तेस्रो तलामा आवासिय सुविधासहितका कोठाहरु रहनेछ ।