चितवन विशेष

बेसद्वारा विद्यार्थी र शिक्षकहरुलाई सम्मान

Banner

चितवन, साउन २७-

भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस)को आयोजनामा विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई सम्मान गरिएको छ ।

बेसका सदस्य विद्यालयबाट एसईई २०८० र आधारभूत तह उत्तीर्ण परीक्षा २०८० मा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी, विद्यालय र उत्कृष्ट औसत जिपी ल्याउने विषय शिक्षकहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सुवास आचार्यले बेसका सदस्य विद्यालयहरुको नतिजा उत्कृष्ठ रहेको जनाउँदै उत्कृष्ट नतिजा हासिल गर्दा एनजी आएकाहरुको स्तर कसरी उकास्ने भन्नेतिर ध्यान दिन सुझाव दिए ।

वर्तमान समयमा विद्यार्थीहरुमा वैदेशिक मोह बढेर दक्ष जनशक्ति पलायन भएका कारण समस्या उत्पन्न भएको जनाउँदै आचार्यले उत्पादन भएको जनशक्तिलाई कसरी राष्ट्रिय हितमा सहभागी गराउने भन्नेतिर सबैको ध्यान जानुपर्ने बताए ।

प्याब्सनका केन्द्रीय सदस्य मोहन लामाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई बधाई ज्ञापन गर्दै देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरुको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।

चितवन जिल्लाबाट एसईई २०८० मा ४ जिपिए प्राप्त गर्ने १७ जनामध्ये बेस सदस्य विद्यालयबाट ११ जनाले ४ जिपिए प्राप्त गरेका थिए । वि.सं २०८० को एसईईमा बेसका सदस्य विद्यालयहरु नारायणी पब्लिक स्कुलबाट ३ जना, अर्किड इङ्लिस स्कुलबाट २ जना, स्मल हेभन मोडल स्कुलबाट २ जना, अरोमा इङ्लिस स्कुलबाट २ जना, पोलार स्टार इङ्लिस स्कुलबाट १ जना र वाल्मीकि शिक्षा सदनबाट १ जना गरी ११ जनाले ४ जिपिए प्राप्त गरेका थिए ।

यसैगरी आधारभूत तह उत्तीर्ण परीक्षा २०८० मा बेसका सदस्य विद्यालयबाट ६ जनाले ४ जिपिए प्राप्त गरेका थिए । बेसका सदस्य विद्यालयहरु वाल्मीकि शिक्षा सदन, नारायणी पब्लिक स्कुल, विद्या विकास इङ्लिस स्कुल, सृजना ईङ्लिस स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल, मनशिक्षा मन्दिरबाट एक–एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका थिए ।

उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई सम्मान गर्ने बेसको कार्यक्रमले सबैलाई हौसला बढाएको सहभागीहरुले प्रतिक्रिया दिए ।

भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस)का अध्यक्ष ईन्द्रेस शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन वागमती प्रदेश सदस्य इन्दिरा कार्की ,प्याब्सन चितवनका पुर्व अध्यक्ष टीकाराम चापागाईं ,प्याब्सन भरतपुर महानगरपालिका अध्यक्ष लेखनाथ खनाल, संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)का संयोजक विष्णुप्रसाद पोख्रेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>