कृषि
विदेशबाट आएर अदुवा खेतीमा रमाउँदै माडीका युवा

निरु लामिछाने
माडी (चितवन), साउन २७-
देशको युवा जनशक्ति विदेशीरहेका बेला माडीका केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।
विदेशी भूमिमा बगाएको पसिना केही समयका लागि मात्र सीमित रहेको भन्दै रोजगारीका लागि विदेशिएका माडीका युवा पछिल्लो समय कृषिमा रमाईरहेका छन् । देशमा नै केही गर्छु भन्ने सोचका साथ विदेशबाट फर्केका युवाहरुले युवा स्वरोजगार कृषि समूह सञ्चालन गरी अहिले कृषि पेशामा आबद्ध भएका छन् ।
माडी नगरपालिका–६ लक्ष्मीनिवासका ५ जना युवाहरु मिलेर सामूहिक रूपमा अदुवा खेती गरिरहेका छन्। दुबई, कतार, साउदी र इजरायलमा केही वर्ष बिताएका युवाहरु अहिले आफ्नै देशमा आफ्नो पाखा पखेरामा केही गर्छु भन्ने मनसायका साथ अदुवा खेतीको सुरुवात गरेका हुन् ।
कल्याणपुर सामुदायिक वन छेउमा जंगली जनावरबाट धान, गहुँ र मकै खेतीमा क्षति पुग्ने गरेको र आफूले सोचे अनुरूप अरु खेती नभएकोले वैकल्पिक खेतीको रूपमा अदूवा खेती गरेको युवा स्वरोजगार कृषि समूहका सचिव शिव सुवेदी बताउँछन् । करिब १० कठ्ठा जमिनमा अदुवा र फूल खेती गरिएको उनले बताए ।
रेवा उपभोक्ता समितिले आफूहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नुका साथै आर्थिक सहयोग समेत गरेको समूहका अध्यक्ष हरि पौडेलले बताए । यस्तो सहयोगबाट आफूहरुलाई थप हौसला प्रदान मिलेको र अबका दिनमा युवाहरु कमाउनकै लागि विदेशिनु नपर्ने उनको भनाई छ ।
रेवा उपभोक्ता समितिका सचिव नेत्र ओझाले स्वदेशमै कृषिका क्षेत्रमा केही गर्छु भन्ने युवाहरुका लागि समितिकातर्फबाट सहयोग गर्न पछि नहट्ने बताए ।


























