देश/प्रदेश

जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म

Banner

गलेश्वर (म्याग्दी), साउन २५-

यहाँको मालिका गाउँपालिका–५ देवीस्थानका रेशम बूढामगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्नमा व्यस्त हुनुहुन्छ ।

बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी देविकला घर्तीको परिवारका सदस्यहरु च्याउ खोज्न जङ्गलमै दिन बिताउने गर्छन् । ओसिलो जङ्गलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, विमलगायतका गाउँका स्थानीयवासी व्यस्त छन् ।

गाउँको होमस्टेदेखि सहरका तारे होटेल र विदेशसमेत रातो च्याउको माग भएकाले महङ्गोमा बिक्री हुने गर्छ । रातो च्याउको मूल्य यस वर्ष आलो प्रतिकिलो रु दुईहजार र सुकाएको रु पाँच हजारसम्ममा बिक्रि हुने गरेको छ । जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिम मोलेर रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य महङ्गो भएको रुमकी देविकला घर्तीले बताउनुभयो ।

प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण वस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ भएको मुना घरबासका सञ्चालक राधिका भण्डारीले बताउनुभयो ।

“घरवासमा आउने जो कोहीले खान र कोशेलीका लागि रातो च्याउ खोज्ने गर्छन्”, भण्डारीले भन्नुभयो, “पाहुनाले युरोप अमेरिकासमेत कोशेलीका लागि यही च्याउ किनेर लैजाने गरेका छन् ।”

गत सालसम्म प्रति किलो रु आठ सयदेखि रु एक हजारसम्ममा बिक्रि भएको रातो च्याउको मूल्य यस वर्ष रु दुई हजार पुगेको छ । सुकाएको रातो च्याउ आलोको तुलनामा महङ्गो भएको व्यापारी जगमाया पुन मगरले बताउनुभयो ।

हालसम्म रातो च्याउको व्यावसायिक बजारीकरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताउनुभयो । जङ्गलमा भर्खरै पलाएको च्याउ टिप्न थालेपछि उत्पादन घट्न थालेको र मूल्य वृद्धि भएको घर्तीको भनाइ छ ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म भण्डारण गर्न मिल्ने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादन बिक्रि गर्दै आउनुभएका सुमन पौडेलले जानकारी दिनुभयो । गत वर्ष रुमबाट रु पाँच लाखको जङ्गली च्याउ बिक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताउनुभयो ।

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी रातो च्याउको उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिना मै फल्ने बीउ उत्पादन भयो त्यसरी रातो च्याउको विकास गर्न सकिन्छ ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>