समाचार
धरानका मेयर हर्क साम्पाङविरुद्ध ‘अराजक’ बने स्थानीयबासी

इटहरी, साउन २५-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध स्थानीयबासीहरू अराजक बनेका छन् । बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयबासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडकोसमेत प्रयास गरेका थिए ।
धरान खोनपानी व्यवस्थापन बोर्डले खानेपानीमा नौ हजार ९०० प्रतिशतसम्म महसुल वृद्धि गरिएको भन्दै स्थानीयबासीहरू साउन ११ यता आन्दोलनरत छन् । आफूहरूको माग सम्बोधन नभएको भन्दै मेयर साम्पाङविरुद्ध धराने जनता बिहीबार अराजक बनेका हुन् ।
आक्रोशित स्थानीय उपभोक्ताहरूले अश्लील गाली गर्दै जुत्ताको माला बनाएर ‘मेयर साम्पाङलाई लगाउने’ भन्दै ‘तँछाडमछाड’समेत गरेका थिए । जसले प्रतीकात्मक र रचनात्मक आन्दोलन भन्दापनि ‘अराजकता’तर्फ धरान उन्मुख भएको नकारात्मक सन्देश प्रवाह भएको छ ।
कांग्रेस धरान नगर सभापति श्याम पोखरेलका अनुसार बिहीबार उपमहानगरपालिकामा धर्ना दिने कार्यक्रम थियो । तर, आक्रोशित भीडमा सामान्य झडपसमेत भएको उनले बताए । ‘मेयर हर्क साम्पाङको बेवास्ताका कारण आज झडपसम्मको स्थिति आयो,’ उनले भने, ‘हामीले खानेपानीको महसुल पुरानै हुनुपर्छ भनेर माग राखेका हौँ । धरानले थेग्नै नसक्नेगरी महसुल वृद्धि हुन अस्वभाविक हो ।’
उनकाअनुसार बिहीबार बिहानैदेखि आन्दोलन गरी साँझमा भने स्थगित गरिएको छ । मेयर साम्पाङले आइतबार वार्ताका लागि बोलाएपछि तत्काललाई आन्दोलनस्थगित गरिएको उनले बताए । ‘हामी बटुवा होइनौँ, राजनीतिक दल हौँ । त्यसलै लिखित पत्र काटेर वार्तामा बोलाउनुपर्छ,’ उनले भने, ‘फेसबुकमार्फत र मौखिक रूपमा वार्तामा बोलाएर हुँदैन । किनकि, हामीले पनि लिखित नै पत्र काटेर महसुल घटाउन माग गरेका छौँ ।’
उनले आक्रोशित भीडलाई संयम बनाउन आफूहरूले भूमिका खेलेपनि आक्रोशित धराने जनता र स्थानीय विद्यार्थीहरूले उपमहानगरपालिकाको गेट नै तोडफोडकोसमेत प्रयास गरेका थिए ।
‘हामी शुक्रबार र शनिबार पनि आन्दोलन र सभा गर्छौँ । आइतबार पनि उपमहानगर गेट बाहिर आन्दोलन र भित्र वार्ता हुन्छ,’ पोखरेलले भने, ‘वार्ता मिलेन भने आन्दोलन जारी हुन्छ, वार्ता मिल्यो भने आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन्छौँ ।’ उनका अनुसार खानेपानी महसुल वृद्धिको विरुद्धमा धरानका सबै जनप्रतिनिधिहरू आन्दोलनरत छन् । ‘दलबाटै निर्वाचित जनप्रतिनिधिहरू भएका कारण र दलकै आन्दोलन भएका कारण जनप्रतिनिधिहरू सहभागी हुनु स्वभाविक कुरा हो,’ उनले भने ।
























