चितवन विशेष
एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०८१बाट पत्रकार सुर्यप्रकाश कँडेल सम्मानित

चितवन, साउन २४-
चितवनमा रहेर अढाइ दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित भएका छन् । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको एक्काइसौं वार्षिकोत्सवको अवसरमा बिहीबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४ बाट कँडेललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसका अध्यक्ष घननाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दोसल्ला र प्रमाणपत्र सहित २५ हजार एक सय एघार रुपैयाँले कँडेललाई सम्मान गरेका हुन् । एक्स्पर्टको १९औँ वार्षिकोत्सवदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक पत्रकार ईश्वरकुमार जोशी र त्यसपछि रमेशकुमार पौडेललाई दिइएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर ४, त्रिचोक निवासी पत्रकार सूर्यप्रकाश कँडेलले चितवनलाई कार्यक्षेत्र बनाएर २०५५ सालदेखि पत्रकारिता गरिरहेका छन् । चितवन सन्देश साप्ताहिकबाट सम्वाददाताका रुपमा अगाडि बढेको उनको पत्रकारिता हाल कायाकैरन दैनिकको प्रधानसम्पादकसम्म आइपुगेको छ ।
पुरस्कार ग्रहण गर्दै पत्रकार कँडेल भावुक बन्नुभएको थियो । विगतका दिन स्मरण गर्दै कँडेलले यस पुरस्कारले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले तीन वर्षदेखि एक्सपर्टले सुरुवात गरेको पत्रकारिता पुरस्कारले पत्रकारहरुमा सकरात्मक उर्जा थपेको बताउनुभयो । उहाँले पुरस्कार वितरणमा महासंघले सहकार्य गर्दै आइरहेको स्मरण गर्दै निजी क्षेत्रले पुरस्कार स्थापना गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।
एक्सपर्टले वार्षिकोत्सव मनाउँदै अन्तर/विद्यालय कलेज फुटसल फेस्टा, निःशुल्क आँखा परीक्षण शिविर, तनहुँको देवघाटस्थित देवघाट क्षेत्र विकास समितिद्धारा संचालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित असाहय वृद्धवृद्धाहरुलाई भोजन, लत्ताकपडा र फलफूल वितरण गरेको थियो भने एक्सपर्ट रत्ननगरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस/पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।


























