समाचार
५७ प्रतिशतले बढ्यो वैदेशिक रोजगारीमा ठगीको उजुरी

काठमाडौं, साउन २४-
वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन्।
आजको गोरखापत्र दैनिकमा समाचार छ, यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र शहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन्। यसरी ठगीमा पर्ने सबैको तथ्यांक भेटिँदैन।
विभागका अनुसार आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ उजुरी दर्ता भएका थिए। आव २०७८/७९ मा वैदेशिक रोजगारी ठगीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार ७४२ वटा थिए। तीन आवको तथ्यांक विश्लेषण गर्दा पछिल्लो आव २०८०/८१ मा सात हजार ७६३ उजुरी दर्ता भएका छन्। यो हेर्दा उजुरी गर्ने उच्च दरमा बढेको स्पष्ट हुन्छ।
उजुरीको फर्छ्योट दर ५० प्रतिशत
वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाको मात्रै फर्छ्योट भएको छ। विभागका अनुसार गत आव २०८०/८१ सात हजार ७६३ उजुरी दर्ता भएका छन्, जसमध्ये तीन हजार ८३७ फर्छ्योट गराउँदा ३० करोड ९३ लाख ८९ हजार ५१२ बराबरको रकम क्षतिपूर्ति भराएको हो।
विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा तीन हजार ४०५ उजुरी दर्ता भएका छन्, जसमध्ये दुई हजार १३१ वटा उजुरी फस्र्योट भए भने ८६ वटा उजुरीमा मिलापत्र गराइएको छ, जसबाट एक करोड ७६ लाख एक हजार ६९८ रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ। सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये एक हजार १९० वटा उजुरी फर्छ्योट हुन बाँकी छन्।
























