समाज

पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर

Banner

गण्डकी, साउन २३-

पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुग्नुभयो । उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएको छ । गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उहाँले निरन्तरता दिइरहनुभएको हो ।

पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुुगेको उहाँले बताउनुुभयो । “गन्दर्भ जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ”, उहाँले भन्नुुभयो, “पछिल्लो पुुस्तामा यस पेसाप्रतिको आकर्षण छैन ।”

परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी -याइँ-याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्दर्भ जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो । पूख्र्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो ।

पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन । गन्दर्भहरु सारङ्गी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे । यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो ।
बाउबाजे कास्कीकै बडहरेबाट छुुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुुबाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गर्नुुभयो ।

गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने काम गर्नुभयो । आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उहाँ बताउनुहुन्छ । सारङ्गीलाई गन्दर्भ समुदायको सौभाग्यका रुपमा लिने गरेको उल्लेख गर्दै उहाँले भन्नुुभयो, “गन्दर्भ समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्दर्भ पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारङ्गी राख्न भने नछोड्नुु है भन्दै आएका छन् ।”

जीवनको सर्वस्व नै सारङ्गी भएको बताउँदै उहाँले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताउनुुभयो । “यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो”, उहाँले भन्नुुभयो, “त्यस समयमा गन्दर्भहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ ।”

बाँकी जीवन यही पेसामा समर्पित गर्ने उहाँको रहर छ । नयाँ पुुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुुने हो कि भन्ने चिन्ताले उहाँलाई पिरोलिरहन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>