समाचार

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन प्रधानमन्त्री सकारात्मक

Banner

काठमाडौं, साउन २२-

प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बनेका छन् ।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेको कांग्रेस सांसदको टोलीसँग छलफलमा प्रधानमन्त्री ओलीले यससम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

छलफलमा सहभागी कांग्रेस नेता उदयशमशेर राणाका अनुसार हवाई सुरक्षाको अवस्था र क्यानलाई सेवाप्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनुपर्ने विषयमा छलफल भएको छ ।

“अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र युरोपियन युनियन (इयु)को सुझाव कार्यान्वयनका विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,” राणाले भने, “प्रधानमन्त्री ओलीले यसको कार्यान्वयन गर्न निर्देशन दिइसकेको हामीलाई जानकारी दिनुभयो ।”

छलफलका क्रममा हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

युरोपियन युनियन (इयु)ले हवाई सुरक्षा र उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा असर पुगेको जनाउँदै नेपाली हवाई सेवाप्रदायकलाई सन् २०१३ देखि निरन्तर सुरक्षा सूचीमा राख्दै आएको छ । यसका कारण नेपाली विमान कम्पनीले युरोपभर हवाई उडानमा प्रतिबन्धको सामना गर्दै आएका छन् ।

हवाई सेवाको सुरक्षाका लागि प्राधिकरणको जिम्मेवारीलाई दुई भागमा विभाजन गर्ने गरी सेवा सञ्चालन र नियमनको छुट्टाछुट्टै कार्यक्षेत्र तोकिनुपर्ने इयुको सुझाव छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र इयुले एकैसाथ नेपाललाई सूचीमा राख्दै आएकोमा आइकाओले भने सन् २०१७ मा नेपाललाई यस्तो सूचीबाट हटाएको थियो । प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवाको नेतृत्वमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणालगायतका कांग्रेस नेता बालुवाटार पुगेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>