समाचार
गण्डकी विश्वविद्यालयको डिन माग विरुद्ध उच्च अदालतमा रिट

काठमाडौं, साउन २०-
गण्डकी विश्वविद्यालयले डिन नियुक्तिका लागि आह्वान गरेको विज्ञापनविरुद्ध उच्च अदालत पोखरामा रिट दायर भएको छ । अधिवक्ताद्वय मनोज घर्ती मगर र विमलप्रसाद लामिछानेले विश्वविद्यालय डिन छनोट सूचनाविरुद्ध रिट दायर गरेका हुन् ।
अधिवक्ताद्वयले विश्वविद्यालयको न्यासिक परिषद्, कुलपति श्री गणेशमान गुरुङ, कानून तथा व्यवस्थापन संकायको डीन नियुक्तिका लागि गठित समिति, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएका छन् ।
विश्वविद्यालयले एउटै व्यक्ति व्यवस्थापन र कानुन कार्यक्रमको डिन हुने गरी विज्ञापन आह्वान गरेकाले विज्ञापनमै त्रुटि रहेको उनीहरुले रिटमा दायर गरेको रिटमा उल्लेख छ । कानुन तथा व्यवस्थापन दुई संकायको एउटै डीन राख्नु विश्वविद्यालयकै ऐन विपरीत हुने उल्लेख छ ।
विश्वविद्यालयले गठन गरेको डीन नियुक्ति सिफारिस समितिले कानुन तथा व्यवस्थापन संकायको नियुक्तिका लागि साउन १० गते सूचना प्रकाशन गरेको थियो । गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २९ (१) अनुसार हरेक संकाय प्रमुख फरक–फरक हुने उल्लेख छ । तर अहिले पनि सबै कार्यक्रमको एउटै डिनका रुपमा डा कपिल अधिकारी कार्यरत छन् । उनीविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन छ ।
























